बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा सांसद प्रमोद साह पक्राउ

२८ असोज ०७६, काठमाडौं । बुद्ध एयरको टिकट काउन्टर तोडफोड गरेको आरोपमा प्रतिनिधिसभाका सांसद प्रमोद साह पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले पक्राउ गर्न पत्र काटेको केही घण्टा मै सांसद साह त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

बुद्ध एयरको जहाज निर्धारित समयभन्दा ३ घण्टा ढिला हुँदा सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड गरेका थिए ।

सांसद साहले जहाजको अवस्थाबारे बुझ्न खोज्दा एयरलायन्सका कर्मचारीहरुले राम्रो रेस्पोन्स नगरेको भन्दै काउन्टरमा लात्तीले हिर्काएको स्वीकार गरेका छन् ।

त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालले सामान्य घटनालाई पनि अतिरञ्जित बनाई साहलाई पक्राउ गरिएको आरोप लगाउँदै विज्ञप्ति जारी गर्दै कहिल्यैं समयमा नआउने जहाजहरुको मनोमानीविरुद्ध बोल्दा साहलाई पक्राउ गरिएको उल्लेख गरेको छ ।

अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले जारी गरेको विज्ञप्तिमा भनिएको छ –‘माननीय सांसदलाई अविलम्ब रिहा गरी एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं ।’

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत