३० असोज ०७६, काठमाडौं । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सबै क्षेत्रमा महिलाको प्रतिनिधित्व ५० प्रतिशत हुनुपर्ने बताएकी छन् ।
बिहीबार ललितपुरमा चौथो विश्व महिला सम्मेलनको समीक्षाका लागि आयोजित राष्ट्रिय परामर्श गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो बताएकी हुन् ।
‘हाम्रो लक्ष्य र माग सबै क्षेत्रमा महिलाको सहभागिता ५० प्रतिशत हुनुपर्छ भन्ने हो’ मनत्री थापाले भनिन्, ‘त्यसका लागि थप संघर्ष गर्नुपर्छ र महिलाको सहभागिता सुनिश्चितताको आवाज उठाउँदै गर्दा महिलाहरुको नेतृत्व र क्षमता विकासमा पनि ध्यान दिनुपर्ने हुन्छ ।’
यद्यपि, मन्त्री थापाले राज्यको तीनै तहको सरकारमा महिलाको सहभागिता उल्लेख्य रहेको र पहिलो गणतान्त्रिक संविधानमा महिलाहरु निर्वाचित हुनु इतिहासकै पहिलो सफलता भएको बताइन् ।
उनले संवैधानिकरुपमा प्राप्त महिला अधिकार कार्यान्वयन गर्न सरकार लागिपरेको बताइन् ।
‘संविधानले महिला र पुरुषलाई समान अधिकार दिएको छ’ मन्त्री थापाले भनिन्, ‘संवैधानिक रुपमा प्राप्त अधिकार कार्यान्वयन र नीतिगत ब्यवस्था गर्न राज्य लागिरहेको छ ।’
उनले निरन्तरको संघर्षबाट संघीय संसदमा ३३ प्रतिशत जनप्रतिनिधि निर्वाचित भएर आउन सफल भएको पनि बताइन् ।
कार्यक्रममा महिला कानून र विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले चौथो विश्व महिला सम्मेलनले गरेका घोषणापत्र, कार्ययोजनाहरु कार्यान्वयन भएको छ, छैन हेर्नु जरुरी रहेको बताए ।
महिला सशक्तिकरण अभियानलाई अझ सशक्त गर्ने अभिप्रायले सन् १९९५ मा चीनको बेइजिङमा चौथो विश्व महिला सम्मेलन भएको थियो । आगामी सम्मेलन सन् २०२० मा चीनमा हुँदैछ ।
गोष्ठी भोलि शुक्रबारसम्म चल्नेछ ।