सामाजिक सुरक्षा कोषमा सूचीकरण ऐच्छिक होइन, अनिवार्य हो – श्रममन्त्री

७ कार्तिक ०७६, काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाा कोषमा सूचीकरण हुने समय थप गर्ने भएको छ ।

निजी क्षेत्रका सबै औद्योगिक प्रतिष्ठानहरुलाई कोषमा आवद्ध हुने समय असोज मसान्तभित्र तोकिदिएको सरकारले असोज अन्ततिर विभिन्न चाडपर्व परेकाले रोजगारदाता तथा योगदानकर्ता प्रभावित भएको भन्दै सूचीकरणको समय थप गर्न लागेको हो ।

‘सरकारी कोषबाट तलब खाने कर्मचारीहरूबाहेक बाँकी सबै श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने काम अनिवार्य रुपमा कोषले गर्दछ । र, यो ऐच्छिक होइन, अनिवार्य हो ’ मन्त्री विष्टले भनेका छन् ।

‘सामाजिक सुरक्षा कोष श्रमिकको हितमा रहेकाले सरकार कुनै पनि हालतमा पछि हट्न नसक्ने पनि मन्त्री विष्टले बताए ।

सामाजिक सुरक्षा योजनालाई वर्षौं अघिदेखि सञ्चालित विभिन्न योजनासँग तुलना गर्नु न्यायोचित नहुने भन्दै मन्त्री विष्टले भने, ‘भर्खर जन्मेको बच्चाले रोनाल्डोले जस्तो गोल हानेन भन्याैं भने त्यो बच्चाप्रति अन्याय हुन्छ ।’

सरकारले गत श्रावण १ गतेदेखि कार्यान्वयनमा ल्याएको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा हालसम्म कोषमा ८ हजार ८१८ जना रोजगारदाताहरू र १ लाख ९६८ योगदानकर्ताहरू सूचीकृत भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत