सत्तारुढ विद्यार्थी संगठनले घेरे भारतीय दुतावास

२२ कार्तिक ०७६, काठमाडौं । नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा खारेज गर्नुपर्ने माग गर्दै सत्तारुढ विद्यार्थी संगठनले नेपालस्थित भारतीय दुतावास घेराउ गरेर धर्ना दिएका छन् ।

शुक्रबार सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियुको नेतृत्वमा युवा विद्यार्थीले दुतावास घेराउ गरेर धर्ना दिएका हुन् ।

विहान ११ बजे लैनचौरस्थित अमृत साइन्स क्याम्पस अगाडी भेला भएका विद्यार्थी नारा जुलुस गर्दै दुतावास घेराउ गरेर धर्ना दिएका थिए ।

धर्नापछि आयोजित कोण सभालाइ सम्बोधन गर्दै अनेरास्ववियूका संयोजक ऐन महरले नेपाली भूमिलाई समेटेर भारतले बनाएको नक्सा तत्काल खारेज गर्नुपर्ने बताए ।

आन्दोलनरत विद्यार्थीले लिपुलेक, कालापानी, लिम्पियाधुरा हाम्रो हो, कागजी अतिक्रमण मुर्दावाद, कहिले बुद्ध कहिले सिमा, कसले गर्ने हाम्रो विमा लेखिएको नारा लगाउँदै प्ले कार्ड बोकेर प्रदर्शन गरेका थिए ।

नेपाली भूमि समेटेको नक्सा भारतले सार्वजनिक गरेसंगै विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’मा ‘ह्यास ट्याग’ गरेर सामाजिक सञ्जालबाट अभियान समेत सञ्चालन गरेका छन् ।

भारतले केही दिन अघि मात्र जारी गरेको नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नै भूमिमा समेटेर नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सा सार्वजनिक भएपछि विद्यार्थीहरुले उक्त नक्सा सच्याउन माग गर्दै आन्दोलनमा उत्रेका छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत