कृषि क्षेत्रको अध्ययन भ्रमणमा अन्टुफको एक टोली भारत जाँदै

२९ कार्तिक ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ)ले कृषि क्षेत्रको अध्ययन तथा अवलोकन भ्रमणका लागि भारत जाने टोलीलाई बिदाई गरेको छ ।

महासंघले शुक्रबार केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरी महासंघको प्रतिनिधित्व गर्दै भारत भ्रमण जाने टोलीलाई बिदाई गरेको हो ।

 

बिदाई कार्यक्रममा संक्षिप्त मन्तव्य राख्दै महासंघका केन्द्रीय उपाध्यक्ष जय कार्कीले महासंघको प्रतिनिधित्व गरेर भारत भ्रमणमा जाने टोलीलाई भारतीय कृषि प्रणाली र कृषि मजदुरहरूको अवस्थाबारे राम्रो जानकारी हाँसिल गरेर आउन सुझाएका छन् ।

आन्ध्र प्रदेशको ट्रेड युनियनको निमन्त्रणामा कृषिसम्बन्धी अध्ययन तथा अवलोकन भ्रमण गर्न अन्टुफ केन्द्रीय उपाध्यक्ष धन बहादुर विकको नेतृत्वमा प्रदेश नं. १ बाट डम्बर प्रसाद काफ्ले, प्रदेश नं. २ बाट यवराज लुइटेल, प्रदेश नं. ४ बाट कृष्ण प्रसाद भुर्तेल, प्रदेश नं. ५, दाङबाट भरत भट्टराई, रुपन्देहीबाट तील बहादुर सार्की, बर्दियाबाट भक्तिराम अधिकारी, बाँकेबाट राजकुमार विसी र कपिलबस्तुबाट गगन कामी साथै प्रदेश नं. ७ बाट पवित्रा विष्ट भोलि शनिबार भारत जाँदैछन् ।

भारतको कृषि क्षेत्र र कृषि मजदुरहरूको अध्ययन तथा अवलोकन भ्रमण सकेर उपाध्यक्ष विक नेतृत्वको १० सदस्यीय टोली मंसिर ७ गते नेपाल फर्कने छन् ।

  •  
  •  
  •  
  •  
  •  

तपाइको मत