अन्टुफलाई रोजगारदाहरूले दुरबिन लगाएर हेरिरहेका छन् – सांसद सिम्खडा

९ मंसिर ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका कार्यबाहक अध्यक्ष जगत बहादुर सिम्खडाले अन्टुफलाई रोजगारदाहरूले दुरबिन लगाएर हेरिरहेका बताएका छन् ।

सोमबार महासंघ कार्यालयमा सेक्युरिटी मजदुरको पदाधिकारी बैठकलाई सम्बोधन गर्नेक्रममा कावा अध्यक्ष सिम्खडाले यस्तो बताएका हुन् ।

“आमश्रमजीवी मजदुरहरूको पक्षमा महासंघले निरन्तर आवाज उठाउँदै आइरहेकाले अन्टुफले के गर्दैछ भनेर हरेक गतिविधिलाई ठूला व्यवसायी र रोजगारदाताहरूले दूरबिन लगाएर हेरिरहेका छन्” प्रदेश सांसद समेत रहेका कावा अध्यक्ष सिम्खडाले भने, “न्यूनतम् बेतन, सामाजिक सुरक्षा कार्यान्वयन नगर्ने औधोगिक प्रतिष्ठानका मालिकहरूका लागि हाम्रो संगठन समस्या बनेको छ ।”

अध्यक्ष सिम्खडाले सेक्युरिटी मजदुरका सातै प्रदेशका नेताहरूलाई मालिकको पक्षमा लागेर संगठनमाथि घात गर्ने कुनै पनि कार्य भए कारवाही हुने चेतावनी समेत दिएको बैठकमा सहभागी एक पदाधिकारीले हाकाहाकी बताए ।

श्रम आपूर्तिकर्ताहरूलाई न्यूनतम् वेतनभन्दा कम टेन्डर गर्न नपाउने गरी सरकारले नीति ल्याउने तयारी गरिरहेको भन्दै अध्यक्ष सिम्खडाले श्रमिकका नेताहरूलाई जिम्मेवारी लिने र जिम्मेवारी पूरा नगर्ने कार्य भए सांगठनिक अपराध हुने भएकाले अपराधजन्य कार्य नगर्न सुझाएको पनि ती पदाधिकारीले जानकारी दिए ।

यसैगरी बैठकमा महासंघका केन्द्रीय उपाध्यक्ष जय कार्कीले संगठनमा काम भएन भनेर रिपोर्टिङ्ग गर्ने नेताहरूले नै फिल्डमा काम नगर्नु आश्चर्य भएको बताए ।

केही नेताहरू आफैँ काम नगर्ने अनि काम भएन भनेर बैठकमा ठूला कुरा गर्न नसुहाउने भन्दै उपाध्यक्ष कार्कीले संगठनको काममा इमानदारीपूर्वक लाग्न निर्देशन दिएका थिए ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघले भोलि मंगलबार हुने भेलाबाट नयाँ नेतृत्व चयन गर्न र चुस्त कमिटी बनाउन भन्दै आज तयारीका लागि पदाधिकारी बैठक बोलाएको हो ।

  •  
  •  
  •  
  •  
  •