सिन्धुपाल्चोक बस दुर्घटनामा १५ मृत्यु, १९ जना घाइते

२९ मंसिर ०७६, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ को ६ किलो भन्ने स्थानमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।

सडकबाट करिब ५ सय मिटर तल खसेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस सडक र आरालोमा गति तीब्र भएको कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार भक्तपुरको जगातीस्थित आदर्श टोलका ४० जना शनिबार दुई वटा गाडी रिजर्भ गरेर दोलखाको कालिन्चोक मन्दिर दर्शन गर्न गएका थिए । मन्दिर दर्शन गरेर फर्किने क्रममा एउटा गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परेको बसका यात्रुहरु भक्तपुरबाट गएको भए पनि धेरैको स्थायी बसोबास सिन्धुपाल्चोक र दोलखा पाइएको छ ।

दुर्घटनामा मत्यु भएका मध्ये २८ वर्षका सुकबहादुर तामाङ, ७ वर्षकी सविना तामाङ, १५ वर्षकी रोशनी तामाङ, २८ वर्षकी मञ्जु तामाङ, ३० वर्षकी रेशमा तामाङ सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का हुन् । यस्तै लिसंखुपाखर गाउँपालिका ४ कि ५५ वर्षकी गंगामाया लामा, बलेफी गाउँपालिका ७ कि ३५ वर्षकी फूलमाया तामाङको पनि दुर्घटनामा मृत्यु भएको छ ।

दोलखाको सैलुङ गाउँपालिका ६ का १० वर्षका रजित बस्नेत र ३२ वर्षकी चिनु बस्नेत, भीमेश्वर नगरपालिका ९ की ४२ वर्षकी लक्ष्मी श्रेष्ठ, रामेछापको उमाकुण्ड गाउँपालिका ४ का २४ वर्षका महेश तामाङ, काभ्रेको बेथान गाउँपालिका ५ का ३६ वर्षका रामशरण खत्री, ३५ वर्षकी मैयाँ केसीको मृत्यु भएको छ । दुई जनाको भने नाम र ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •