१३औं सागमा पदक जित्ने खेलाडी पुगे बालुवाटार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) सकिएको भोलिपल्ट पदक विजेता खेलाडीलाई बालुवाटार बोलाएका छन् ।

प्रधानमन्त्रीले पदक विजेता खेलाडीहरूको हौसला बढाउन सबै पदक विजेता खेलाडी र खेल संघका पदाधिकारीलाई बालुवाटार बोलाएका हुन् ।

खेलाडीलाई करिब आधा घण्टा विशेष सम्बोधन गरेका प्रधानमन्त्री ओलीले सरकारको तर्फबाट बिशेष प्याकेज घोषणा गरे ।

उनले कास्य पदक विजेता खेलाडीलाई चार लाख र रजत पदक विजेता खेलाडीलाई ६ लाख रुपैयाँ दिने घोषणा गरे । यसैगरी स्वर्ण पदक विजेता खेलाडीलाई ९ लाख दिने बताए । साथै उनले एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीले ११ लाख रुपैयाँका दरले रकम पाउने घोषणा गरे ।

प्रधानमन्त्री पुरस्कार घोषणा गर्नेक्रममा टिम ईभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई ५ लाख दिने बताए भने रजत र कास्यको पुरस्कार राशीमा अड्किएका थिए । यद्यपि, प्रधानमन्त्रीले नमिलेका कुरा पछि मिलाउने भन्दै कार्यक्रमलाई अन्त्य गर्न लागे ।१२औं सागमा टिम इभेन्ट स्वर्ण विजेताले ३ लाख, रजतले २ र कास्यले १ लाख पाएका थिए ।

एक भन्दा बढी स्वर्ण जित्ने खेलाडीले पाउने पुरस्कारमा कन्फ्युजन देखिएको थियो तर सदस्य सचिव रमेश सिलवालले जति स्वर्ण जितेपनि ११ लाख खेलाडीले पाउने जानकारी गराए ।

सदस्य सचिव सिल्वालले राज्यको ढुकुटीले प्रति स्वर्ण ११ लाख दिन नसकिने बताए ।

सरकारले १२औं सागको स्वर्ण विजेतालाई ५ लाख, रजतलाई ३ लाख र कास्यलाई २ लाख दिएको थियो ।

घोषित पुरस्कारको सन्दर्भमा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रधानमन्त्रीको सम्बोधन अनुसार खेलाडीले पुरस्कार पाउने बताए । उनले घोषणा अनुरुप कार्यविधि बन्ने र छुटेका बिषय कार्यविधिमा समावेश गरी मन्त्रीपरिषद्ले पारित हुने बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •