मजदुरविरोधी नेताले श्रम ऐनमा श्रमिकविरोधी दफा, उपदफा घुसाए – अन्टुफ उपाध्यक्ष कार्की

काठमाडौं । अखिल नेपाल औद्योगिक मजदुर संघ प्रदेश नं. ३ को भेला तथा प्रशिक्षण सम्पन्न भएको छ ।

अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष एवम् सांसद जगत सिम्खडाको प्रमुख आतिथ्यतामा सोमबार बालाजु औधोगिक क्षेत्रमा औद्योगिक मजदुरको प्रदेश भेला तथा प्रशिक्षण सम्पन्न भएको हो ।

महासंघका अध्यक्ष सिम्खडाले भेलालाई सम्बोधन गर्दै मजदुरका नेता श्रमजीवी मजदुरको पक्षमा दह्रोसँग उभिन सक्नु पर्ने भन्दै श्रमिकको पक्षमा परिणाम निकाल्ने गरी काम गर्न निर्देशन दिए ।

अध्यक्ष सिम्खडाले सामाजिक सुरक्षा योजना कार्यान्वयन गराउन र श्रम ऐनका मजदुर विरोधी दफाहरूको संशोधनका लागि नयाँ ढंगले योजना निर्माण गरेर जानु पर्ने बताए ।

यसैगरी महासंघका केन्द्रीय उपाध्यक्ष जय कार्कीले श्रम ऐनका १४५, १३१ लगायतका दफाहरूको रोजगारदाताले गलत प्रयोग गर्न थालेकाले सोको विरुद्ध ट्रेड युनियनकर्मीहरूले सशक्त रुपमा प्रतिवाद गर्नुपर्ने बताए ।

उपाध्यक्ष कार्कीले ट्रेड युनियनका मजदुरविरोधी नेताहरूले रोजगारदाताको हित हुने गरी ऐनमा मजदुरविरोधी दफा, उपदफा घुसाउन सफल भएकाले दलाल मजदुर नेताको भण्डाफोर र श्रमिक विरोधी दफा संशोधनका लागि आवश्यक दवाव दिनु पर्ने बेला आएको बताए ।

यस्तै महासंघका उपमहासचिव शालिकराम काफ्लेले मजदुर नेताहरू मजदुरप्रति इमान्दार नहुँदासम्म मजदुरले विश्वास गर्ने परिस्थिति निर्माण नहुने हुँदा औधोगिक मजदुरको भेलाबाट चुनिने नेतृत्व र कार्यसमिति मजदुरका समस्याप्रति बफादार सिपाही बनेर काम गर्नुपर्ने बताएका थिए ।

सो भेलाले होम खडकाको नेतृत्वमा १७ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ । कार्यसमितिकाे उपाध्यक्षमा हेम न्यौपाने, सचिब भोजबहादुर रंगेली, सहसचिवमा धन रोक्का, कोषाध्यक्षमा अन्जु बोम्जन सदस्यहरु कृष्ण बर्तौला, कुमार चौलागाई, ज्ञानेन्द्र लामिछाने, बाहदुरसिह तामाङ, राजेन्द्र भण्डारी, मनबाहदुर मगर, अनिता सापकोटा, बिजय गोबिन्द महर्जन, लवकुमार महतो, सोनाम तामाङ, ओम खरेल रहेका छन् भने ३ जनासम्म आवश्यकता कार्यसमितिले थप गर्न सक्ने बताइएको छ ।

उक्त भेला तथा प्रशिक्षणमा औधोगिक मजदुर संघका अध्यक्ष भुमबहादुर रेग्मी, अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष रामचन्द्र कार्की, अन्टुफ काभ्रेका इन्चार्ज होम खुलाल लगायतका मजदुर नेताहरूको समेत आतिथ्यता रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •