विवाद समाधान नभएपछि काँग्रेस केन्द्रीय समिति बैठक स्थगित

२ पुस ०७६, काठमाडौं । नेपाली काँग्रेसको आन्तरिक विवाद समाधान नभएपछि केन्द्रीय समिति बैठक स्थगित भएको छ ।

बुधबार दिउँसो १ बजे बैठकको समय निर्धारण गरिए पनि बैठक नबसी बैठक स्थगित भएको हो ।

सहमतिका लागि सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षधरका नेताहरुबीच छलफल भए पनि पौडेल–कृष्ण सिटौला पक्षधर नेताहरु सभापति देउवाको चार वर्षे कार्यकाल पूरा हुन तीन महिना मात्र बाँकी रहेको बेला महाधिवेशनको तालिका बनाउनु पर्नेमा उल्टो विभागहरु थप्ने प्रस्ताव ल्याएको भन्दै रुष्ट छन् ।

देउवा पक्षले बिमलेन्द्र निधिलाई र पौडेल पक्षले प्रकाशमान सिंहलाई विवाद समाधानका लागि वार्ता गर्न जिम्मा दिएका छन् ।

महाधिवेशन तालिका, नेविसंघ, तरुण दललगायतका भ्रातृ संस्थाको नेतृत्व चयन, विभागहरु गठनलगायतका विषयमा देउवा र पौडेल पक्षबीच विवाद कायमै छ ।

  •  
  •  
  •  
  •  
  •