मजदुरवर्गले माओलाई नसम्झँदा देश अर्कै बन्छ – स्वनाम साथी

काठमाडौं । चिनियाँ जनवादी क्रान्तिका नायक माओ त्से तुङको १२७औं जन्म दिवस अर्थात् आज डिसेम्बर २६ विश्वभरिका कम्युनिष्टहरुले विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् । नेपालमा पनि यो दिवस माक्र्सवाद–लेनिनवाद–माओवाद मान्ने (मालेमावादी)हरुले विभिन्न कार्यक्रम गरी मनाउँदै छन् ।

माओका योगदानहरूलाई विश्व कम्युनिष्ट आन्दोलनमा ‘माओवाद’का रूपमा संश्लेषण गरिएको छ । माक्र्सले प्रतिपादन गरेको दर्शनलाई साम्राज्यवादको व्याख्या गर्दै लेनिनले औद्योगिक र पुँजीवादी देशमा समाजवादी क्रान्तिको कार्यदशा प्रतिपादन र सफल कार्यान्वयन गर्न अर्धसामन्ती र अर्धऔपनिवेशिक देशमा ‘किसानमा भर परेर क्रान्ति गर्नुपर्ने र त्यसको स्वरूप तिनै देशका क्रान्तिकारीले ठोस गर्नुपर्ने’ धारणा राखेका थिए । लेनिनको उक्त अभिभारा चीनमा चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओले पूरा गरे ।

उनै महान् व्यक्ति माओको जन्म सन् १८९३ डिसेम्बर २६ का दिन चीनको साओसानमा भएको थियो भने मृत्यु सन् १९७६ सेप्टेम्बर ९ मा बेइजिङमा भएको थियो । यस सन्दर्भमा नेपाली मजदुर आन्दोलनका नेता ट्रेड युनियनकर्मीले माओलाई कसरी सम्झिएका छन् भन्नेबारे यहाँ संक्षिप्त चर्चा गरिएको छ ।

माओलाई मजदुरवर्गले नसम्झँदा अर्कै बन्छ 

स्वनाम साथी : संयोजक, सीमा बचाउ अभियान, नेपाल राष्ट्रिय परिषद्

माओ दिवसलाई मजदुरवर्गले सम्झँदा देश अर्कै बन्छ, नसम्झँदा अर्कै बन्छ । आज अर्थात् डिसेम्बर २६ विश्व सर्वहारावर्गको नेता तथा कम्युनिष्ट गुरु माओ त्से तुङकोे जन्मदिन हो । नेपालका कम्युनिष्टहरुले उहाँको जन्मदिनलाई पछिल्ला केही दशकदेखि निरन्तर विभिन्न कार्यक्रम र स्मृति सभा गरेर मनाउँदै आइरहेका छन् । स्मरणीय यो छ कि, हामी कम्युनिष्टहरु पनि धेरै किसिमका छौँ । कोही यही व्यवस्थालाई कायम राख्न चाहने, कोही यो व्यवस्थालाई फेरि फाल्ने भन्ने, कोही व्यवस्था पनि फेर्ने भन्ने तर यहीँ खेल्ने खालका छौँ । त्यतिमात्रै होइन, अहिले नेपालमा कम्युनिष्टको करिब दुई तिहाईको सरकार छ ।हामी कोही सरकारमा पनि छौं, कोही सदनमा, कोही सकडमा र कोही जंगलमा पनि रहेको अवस्था छ । यस सन्दर्भमा, हामी सबै मिलेर नेपाली किसान मजदुर वर्ग, दीन दुःखीहरुको व्यवस्थाका लागि, अहिले र भोलिका लागि पनि काम लाग्ने गरी कुनै पनि कार्य गर्नुपर्ने थियो, त्यो भइरहेको छैन् भन्ने आम श्रमजीवी वर्गको गुनासो कायमै छ । त्यसैले सर्वहारा वर्गका नेता माओले जीवनभरि संसारका दीन दुःखीहरु, उत्पीडित, शोषित, जनताको पक्षमा काम गरेका हुनाले उहाँलाई स्मरण गर्नु भनेको विश्वका जनताले अन्याय, अत्याचारकाविरुद्ध, शोषण, दमन र उत्पीडनको विरुद्ध साथै स्वाभिमानपूर्वक जीवन जिउनका लागि सम्झिनु हो । अतः माओ दिवसका अवसरमा उहाँलाई सम्झिएर हामी आफैँमाथि भएको अन्याय, अत्याचार र उत्पीडनका विरुद्ध लड्न कटिबद्ध छौँ भनेर प्रतिवद्धता जनाउन यो दिवस मनाउँदै छौं ।

माओको बाटो अनुसरण गर्दा मात्रै मजदुर वर्गको मुक्ति सम्भव

जगत सिम्खडा/सांसद एवम् अध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ

माक्र्सवाद–लेनिनवाद–माओवाद आफैँमा विज्ञान हो । माक्र्स हुँदै माओवादसम्म आइपुग्दा सर्वहारावर्गको मुक्तिका निम्ति माओको योगदान अतुलनीय रहेको छ । माक्र्सवादलाई थप विकास गर्न माओको ठूलो योगदान रहेको छ । माओले चिनियाँ क्रान्तिमा मात्रै नभएर संसारको सर्वहारा वर्गलाई मुक्ति दिन, जुन अधिकारका लागि लड्नुभयो त्यसले नेपालमा पनि प्रभाव प¥यो र १० वर्ष जनयुद्ध भयो ।

माक्र्सवाद, लेनिनवाद र माओवादलाई अनुसरण गर्दै नेपालमा नयाँ जनवादी क्रान्तिको निम्ति जनयुद्ध भयो । फलतः हामीले संघीयतासहितको गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक, समावेशी जे प्राप्त गरेका छौँ, यसमा माओकै देन रहेको छ । अब यसभन्दा अगाडि जान नेपाली सर्वहारावर्गको काँधमा माओले देखाउनुभएको मार्गलाई प्रशस्त गरिनु जरुरी छ । माओ दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमिकलाई माओले देखाउनु भएको बाटो अनुसरण गर्दा मात्रै सर्वहारा, श्रमिक र मजदुर वर्गको मुक्ति हुने भएकाले त्यसलाई दह्रोसँग पक्रिन आग्रह गर्दछु ।

अहिले नेपाली ट्रेड युनियन आन्दोलनका उपलब्धिस्वरुप नेपाली श्रमिक मजदुरवर्गले योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र श्रम ऐन पाएका छौं । यसको कायान्वयनको चरणमा छौँ । तसर्थ, हामीले श्रमजीवी वर्गको अधिकारको कुरा गरिरहेका छौँ ।

यस माओ दिवसका सन्र्दभमा अखिल नेपाल ट्रेड युनियन महासंघ यो अपिल गर्दछ, “माओवादलाई पक्रिएर १० वर्ष जनयुद्ध भयो, यसैको जगमा १९ दिने जनआन्दोलन भयो फलतः राजनीतिक क्रान्तिसँगै आर्थिक क्रान्तिमा देश प्रवेश गरेको छ । तीनै तहका सरकार गठन भएको छ । समृद्ध नेपाल, सुखी नेपाली बन्ने दिशामा उन्मुख छौँ । त्यसैले देश र जनता समृद्धिका निम्ति राष्ट्रका निम्ति, राष्ट्रिय स्वाधिनतासहितको विकासका निम्ति साथै अन्याय, अत्याचार, शोषणरहित समाज निर्माणका लागि आम श्रमिक, मजदुर वर्ग माओको पथलाई अनुसरण गर्दै एकजुट भएर अघि बढ्नु पर्छ ।

मालेमावादलाई छोड्ने बित्तिकै भ्वाङ पर्छ

जय कार्की – उपाध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ

माओ दिवसका सन्दर्भमा स्मरण गनुपर्ने विषय भनेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जे जति परिवर्तन भएका छन्, त्यो नौलो जनवादी क्रान्ति, समाजवादी क्रान्तिकै देन हो । पछिल्ला दशकमा माओ दिवस अर्थात् ६ डिसेम्बरको चर्चा र महत्व घट्दै गइरहेको देखिन थालेका छन् । औपचारिकताका लागि कार्यक्रमहरु आयोजना हुने व्यवहारिकतामा भिन्न हुने परम्परा मूलतः सुधारवाद हावी हुँदै गइरहेको छ, पूँजीवाद हावी हुँदै गइरहेको देखिन्छ ।

हामीले अहिलेको समाजवादी लाइनलाई जिवितै राख्न महान् व्यक्तित्व माओको जन्म दिवस मनाउनुको अर्थ छ । किनभने, माओवाद, विचारधारा छोड्ने बित्तिकै मूलतः मालेमावादलाई छोड्ने बित्तिकै कहीँ न कही भ्वाङ पर्ने रहेछ । त्यसैले हाम्रो माटो अवस्थाअनुसार, माओवादलाई लागू गरेर जानुपर्छ । नत्र, जग कमजोर हुने र कहीँ न कहीँ दुर्घटना पर्न सक्छ । यसर्थ, आम मजदुरको भविष्य मानिएको ट्रेड युनियनकर्मीहरुले मजदुरका मुक्तिका लागि मजदुर आन्दोलनलाई नयाँ धारमा लैजानका लागि पनि उहाँको देनलाई टेक्नै पर्छ ।

पसिना बगाउनेहरु संसारको असली निर्माता 

धन बहादुर वि.क./उपाध्यक्ष अन्टुफ

विश्वको चालकशक्ति श्रमजीवीवर्ग दिन प्रतिदिन कष्टप्रद जीवन गुजार्न बाध्य छन् । यस्तो अवस्थामा पाखुरा चलाउनेहरु, पसिना बगाउनेहरु नै यो संसारको असली निर्माता हुन भन्ने कुरा व्यव्हारत स्थापित गर्न सफल श्रमजिववर्गका महान नेता कमरेड माओत्सेतुङलाई संसारभरका श्रमिकवर्गले कहिल्यै पनि भूल्ने छैन् ।

आजको दिनमा माओलाई सम्झँदा अखिल नेपाल ट्रेड यूनियन महासंघ यस लक्ष्यलाई पुरा गर्ने उद्देश्यलाई स्मरण गर्दै आफ्नो अभियानमा अझै दृढतापूर्वक अगाडि बढने प्रण गदर्छ ।

माओले देखाएको बाटोमा अगाडि बढ्नु पर्छ

सोनालाल साह/अन्टुफ प्रदेश नं. २ इन्चार्ज

माओले देखाउनु भएको बाटोमा अगाडि बढ्नु पर्छ, विचलित हुनुुहुँदैन । माओले देखाउनु भएको बाटोबाट अघि बढेमा मात्रै आम श्रमिकवर्ग, मजदुर वर्गको मुक्ति सम्भव छ ।

 

मजदुर मुक्तिका लागि माओको अतुलनीय योगदान छ

शालिक काफ्ले/उपमहासचिव अन्टुफ

माओ त्से तुङको जन्मदिनलाई सर्वहारा वर्गका नेताको जन्मदिनका रुपमा स्मरण गरिनु पर्दछ । उहाँको योगदानलाई मजदुर वर्गले नसम्झिरहन सक्दैन । मानवजातिका मुक्तिका लागि ऐतिहासिक पात्रको जन्मदिन अर्थात् २६ डिसेम्बर हो । माओले अर्धऔपनिवेशिक र अर्धसामन्ती देशलाई बाह्य र आन्तरिक सामन्तवादविरुद्ध संघर्ष गरेर कसरी सर्वहारावर्गको राज्य सत्ता स्थापना गर्न सकिन्छ भन्ने शिक्षा दिएका छन् । माक्र्स र लेनिनले विकास गरेका सिद्धान्तलाई विकसित गरेर माओले सर्वहाराको राज्यसत्ता स्थापना गर्न सकिने बाटो देखाउनु भयो । उहाँले बल प्रयोग गरेर सत्ता कब्जा गर्ने, ग्रामीण, किसान मजदुरको मुक्तिका लागि राजनीतिक सत्ता स्थापना गर्न सैन्य विज्ञानको विकास गर्नुभयो । यसर्थ पनि माओको अतुलनीय योगदान रहेको छ ।

नेपाली समाज क्रान्ति पुरा नभइसकेको चरणमै रहेकाले शोषक र शासकका रुप बदलिएको छ । करिब दुई तिहाइ बहुमतको सरकार छ तर गरिखाने वर्गको अधिकार स्थापित गर्ने कार्यभार अर्थात् मजदुरका अधिकार स्थापित भएका छैनन् । सामाजिक सुरक्षा ऐन लागू गर्न संघर्ष गर्नुपर्ने अवस्था छ । कल कारखानाबाट मजदुर निश्किासित भइरहेका छन् । त्यसैले माओले देखाएको बाटोबाट अघि बढेमा मात्रै मजदुरको मुक्ति सम्भव छ । अतः देशभित्र र बाहिरका श्रमजीवी मजदुरहरुलाई उहाँले समातेको बाटो पक्रिएर अग्रसर हुन शुभकामना व्यक्त गर्न चाहन्छु ।

माओको आठ गर, आठ नगरलाई पक्रिन सकेका छैनौं

विष्णु थापा/उपमहासचिव अन्टुफ

माओको महान विचारलाई अनुसरण गरेर अघि बढेपछि मात्रै नेपालमा उत्पीडित वर्गका आवाज सुनि थालिएका हुन् । त्यसैले माओको दर्शनलाई पछ्याएको खण्डमा मात्र मुक्ति सम्भव छ । अहिले जे जति उपलब्धि भएका छन् र जे प्राप्त गरेका छौं, त्यसका पछाडि माओको देन रहेको छ । माओको विचारलाई आत्मसात् गरेर १०वर्ष जनयुद्ध भयो । माओको विचार सिद्धान्त सही लागेर नै जनयुद्धमा हामी महिलाहरु पनि जनयुद्धमा सहभागी भयौं । फलतः राज्यका सबै तहमा महिला प्रतिनिधिहरुको अनिवार्य सहभागिता र प्रतिनिधित्व हुन पुग्यो । यी सबै माओले देखाएको बाटोमा हिँडेपछि प्राप्त भएका उपलब्धि हुन् । माओ दिवसका अवसरमा स्मरण गर्नु जरुरी छ कि, हामीले माओले भन्नुभएको आठ गर, आठ नगरलाई पक्रिन सकेका छैनौं । त्यो पक्रिन पर्दछ, जहाँ आम महिला र उत्पीडित वर्गको मुक्ति छ ।

श्रमजीवी वर्गलाई केन्द्रमा राखेर समृद्धि खोज्नुपर्छ

भूपाल सापकोटा/उपमहासचिव अन्टुफ, इन्चार्ज प्रदेश नं. १

कसैले वाद, कसैले विचार धारा जे भने पनि माक्र्सवादको विकास हुने क्रममा माक्र्सवाद, लेनिनवाद हुँदै माओवादसम्म आउँदा माओवाद आफैं एउटा सिद्धान्तका रुपमा अगाडि बढिरहेको छ । अहिले नेपालमा कम्युनिष्ट पार्टीको करिब दुई तिहाइको नजिक रहेको बहुमतको सरकार रहेको र समाजवाद निर्माणमा राज्यलाई कसरी लैजाने बहस चलिरहेकै छ । संविधान निर्माण भइसकेको अवस्थामा माओले जुन देन गर्नु भएको छ त्यो अपरिहार्य ढंगले लागू गर्न आवश्यक देखिन्छ । नेपालका कम्युनिष्ट पार्टीहरुले श्रमजीवी वर्गलाई केन्द्रमा राखेर समृद्धि खोज्नुपर्छ । माओ जयन्तीका सन्दर्भमा आमश्रमजीवी मजदूर वर्गमा माओको आर्दशलाई पक्रिएर अघि बढ्न आग्रह गर्दछु ।

अहिले जुन उपलब्धि हासिल गरेका छौं, माओको देन हो

लाल कुमारी पुन ‘सुशीला’/सांसद एवम् सचिव अन्टुफ/इन्चार्ज प्रदेश नं. ५

अहिले हामी जुन परिवर्तन प्राप्ति गरेका छौं माओको विचारलाई अँगालेर नै प्राप्त गरेका हौं । उहाँको दर्शनले नै आज नेपाल आजको अवस्थामा आइपुगेको हो । माओवादले सर्वहारावर्गलाई, आम मजदुर वर्गलाई समेटेको छ । हामी मालेमावादीहरुले उहाँको जन्मोत्सवको अवसरमा परिवर्तनकारीले धार समाएर यसैको जगमा रुपान्तरण हुनुपर्छ । हामीले गणतन्त्र, संघीयता, समानुपातिक, समावेशी, धर्म निरपेक्षता जे उपलब्धि हासिल गरेका छौं, उहाँकै देन हो । माओ सशरीर जीवित नरहे पनि विश्वभर उहाँको विचार जिवित छ । अझै झाँगिदै गइरहेको छ । हामीले माओको जन्मदिनलाई सर्वहारा वर्गको मुक्तिका दिनका रुपमा स्मरण गर्नुपर्दछ ।

माओको सिद्धान्त र पथमा अविचलित भइ अघि बढौं

धन बहादुर रोका/अन्टुफ इन्चार्ज प्रदेश नं. ६

श्रमजीवी मजदुर वर्गले माओको सिद्धान्तलाई निरन्तर आत्मसात गरेको अवस्थामात्रै शोषण, दमन, अन्याय, अत्याचारको अन्त्य गर्न साथै आफ्ना हक, अधिकारलाई स्थापित गर्न सक्नेछौं । त्यसैले उहाँले देखाएको बाटोबाट निरन्तर अघि बढ्नु पर्छ । माओ दिवसका अवसरमा आज श्रमवीजी मजदुरहरुलाई आफ्नो मुक्तिका लागि माओको सिद्धान्त र पथमा अविचलित भइ अघि बढौं भन्ने अपिल गर्दछु ।

कम्युनिष्टका नाममा लुट्ने व्यवस्था अन्त्य गर्न पनि माओलाई स्मरण गर्नुपर्दछ

सोम तामाङ/सचिव अन्टुफ

माओ दिवसका सन्दर्भमा उहाँलाई स्मरण गर्नुपर्दा, नेपालको राजनीतिक परिवर्तन, नेपाली समाजको आजको अवस्थासम्म आइपुग्न माओको विचार, दर्शनको ठूलो भूमिका रहेको छ । निरंकुश सामन्ती राजतन्त्रात्मक व्यवस्था फाल्न माओको देन अर्थात् नीतिको प्रमुख रह्यो । माओवादले नै नेपालको राजनीतिक परिवर्तन सम्भव हुन गएको हो । माओ विचारले गर्दा नै हामी अहिलेको अवस्थामा आएका छौँ । माओको विचारलाई अनुसरण गरेको अवस्थामा आमूल परिवर्तन सम्भव छ ।

पछिल्लो समय पैसा खर्च गर्न नसक्ने कम्युनिष्टको नेताले चुनाव नजित्ने, भ्रष्टाचार नगर्ने नेताहरुले यो व्यवस्थामा चुनाव लड्न नसक्ने अवस्थाको बन्दै गइरहेको देखिन्छ । यसलाई रोक्न, मूलतः अन्त्य गर्न अर्थात् अवसरवादीले कम्युनिष्टका नाममा लुट्ने व्यवस्था अन्त्य गर्न पनि माओलाई आत्मसात गर्न र उहाँलाई स्मरण गर्नुपर्दछ । जनतामा आधारित व्यवस्था स्थापना गर्न लाग्नुपर्छ यसो हुँदा मात्रै यो दिवसको सार्थकता हुनेछ ।

ट्रेड युनियन आन्दोलन गलत दिशामा, माओको बाटो सही छ

अर्जुन चिमोरिया /अन्टुफ, प्रदेश नं २ अध्यक्ष

डिसेम्बर २६ को स्मरण गर्नुपर्दा मुख्यतः माओले श्रमजीवी, गरिखाने वर्गको राज्यसत्ता स्थापनार्थ गर्न अघि बढ्नु भएको स्मरण गर्नु पर्दछ । नेपालका सन्दर्भमा श्रमिक वर्ग नउठ्दासम्म राजनीतिक परिवर्तन साथै अधिकार प्राप्त भएका छैनन् त्यसमा माओको विचार सिद्धान्तले काम गरेको छ । अतः सर्वहारावर्गको राज्यसत्ता स्थापनार्थ र मजदुर वर्गका हक अधिकार स्थापित गर्ने हो भने मजदुर वर्गले माओलाई बोक्नु जरुरी छ । नेपालका परिवेशमा ट्रेड युनियन आन्दोलन गलत दिशामा गइरहेको छ, सही बाटोमा ल्याउन मजदूर वर्गको नेतृत्व र ट्रेड युनियन गर्नेहरु माओले देखाउनुभएको दिशा समात्नु जानुपर्दछ ।

सर्वहारा वर्गीय सिद्धान्तलाई अनुसरण गर्न सके मात्रै माओ दिवसको सार्थकता

रुद्र गौतम/अन्टुफ, प्रदेश नं ४ अध्यक्ष


माओ जन्म जयन्तीको सन्दर्भमा, माओ दिवस मनाइरहँदा उहाँको दर्शन समाएर नै नेपालका कम्युनिष्टहरुले राजनीति गरिरहेका छन् । तर, व्यवहारतः समाउन सकेको देखिँदैन् । अतः उहाँको सर्वहारा वर्गीय सिद्धान्तलाई अनुसरण गर्न सकेमा मात्रै यस दिवस मनाउनुको सार्थकता रहन्छ ।

  •  
  •  
  •  
  •  
  •