जनवरी १ का दिन रंगशालामा भ्रमण वर्ष २०२० को उद्घाटन हुने

१४ पुस ०७६, काठमाडौं । जनवरी १ मा दशरथ रंगशालामा भ्रमण वर्ष २०२० को भव्य उद्घाटन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन दशरथ रंगशाला, त्रिपुरेश्वरमा जनवरी १ मा हुने बताएको छ ।

सरकारले वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेसँगै दशरथ रंगशाला, त्रिपुरेश्वरमा २०२० को पहिलो दिन जनवरी १ (पुस १६ गते) भ्रमण वर्ष उद्घाटन गर्न लागेको हो ।

मन्त्रालयले पुस ८ गतेको सचिवस्तरीय निर्णयअनुसार पुस १५ र १६ गते सबै सरकारी निकायहरुमा दीपावली गर्न निर्देशन समेत दिएको छ ।

उक्त निर्देशन अनुसार सबै सरकारी निकायहरूमा भ्रमण वर्ष २०२० को उद्घाटन र त्यसको अघिल्लो दिन भोलि पुस १५ गते दीपावली हुँदैछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि मातहतका स्थानीय तहसम्म पर्यटन मन्त्रालयको निर्णय पठाई दीपावली गर्न निर्देशन गरेको छ ।

मन्त्रिपरिषद्को २९ कार्तिकको बैठकले समेत भ्रमण वर्षका विषयमा सार्वजनिक निकायहरुका लागि ७ बुँदे निर्देशन जारी गरेको थियो ।

नेपाल सरकारका मन्त्रालय एवम् विभाग, सांर्वजनिक संस्थानलगायत सार्वजनिक निकायबाट भ्रमण वर्ष २०२० लाई राष्ट्रिय अभियानका रुपमा अपनत्व लिने निर्णय मन्त्रीपरिषद्ले गरेको थियो । यस्ता निकायका वेवसाइट र आधिकारिक सामाजिक सञ्जालमा समेत नेपाल भ्रमण वर्षको लोगो राख्ने, वेवसाइटमा नेपाल भ्रमण वर्ष २०२० सचिवालयको वेवसाइट लिंक गर्ने निर्णय गरेको थियो ।

सार्वजनिक निकायले गर्ने पत्राचारमा अनिवार्य नेपाल भ्रमण वर्षको लोगो राख्ने, बुलेटिनमा भ्रमण वर्षसम्बन्धी लेख–रचना प्रकाशित गर्ने निर्णय भएको छ ।

नेपाल सरकारका मन्त्रालय र सार्वजनिक निकायबाट हुने विदेशमा भ्रमणमा समेत अनिवार्य नेपाल भ्रमण वर्ष २०२० को बारे जानकारी गराउनु पर्नेछ ।

नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामग्री कल्याणकारी कोषबाट उपलब्ध हुने सुविधा अनुरुप प्रकाशन तथा प्रसारणको व्यवस्था मिलाउन सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिइएको छ ।

  •  
  •  
  •  
  •  
  •