सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम : विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव

भक्तपुर । सरोकारवालाहरूले तयारी बिना सामुदायिक विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको बताएका छन् ।

मंगलबार शिक्षा पत्रकार समूहले आयोजना गरेको अन्तक्रियामा सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

विद्यार्थीहरुको सिर्जनशीलता जबर्जस्ती लागू गरिएको अंग्रेजी माध्यमले मरेको साथै पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नरहेका कारण सामुदायिक विद्यालयमा नाम मात्रैको अंग्रेजी माध्यम लागू भइरहेको सरोकारवालाहरुले गुनासो गरे ।

कार्यक्रममा बोल्ने अधिकांश प्रधानाध्यापकहरुले अंग्रेजी माध्यम लागू गरिए पनि पुराना शिक्षकहरुले वास्तवमा अंग्रजीमा पढाउनै नसकेका अनुभव सुनाएका थिए ।

कार्यक्रममा बोल्दै चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अभिभावकको अत्याधिक चाहनाले विद्यालयहरुले अंग्रेजी माध्यममा पठन–पाठन शुरु गरेपनि सोहीअनुसार शिक्षक व्यवस्थापन गर्न नसक्दा प्रभावकारी हुन नसकेको बताए ।

मिश्रले अभिभावकको चाहना अंग्रेजी भएपनि शिक्षक र विद्यार्थीको क्षमतामा सुधार नआएसम्म त्यसलाई प्रभावकारी बनाउन नसकिने बताए । उनले भने, “सबै शिक्षकमा समस्या छैन, केहीमा समस्या देखिएका छन्, त्यसलाई कसरी सम्बोधन गर्ने भनेर नगरले तयारी गरिरहेको छ ।”

यस्तै, मध्यपुर नगरपालिका प्रमुख मदनसुन्दर श्रेष्ठले अंग्रेजी भाषा मात्र भएपनि यसलाई गुणस्तरकै मानक मान्दा विद्यालयहरुमा समस्या देखिएका बताए । शिक्षण माध्यम जे भएपनि विषयवस्तुको सिकाइमा गुणस्तरीयता आउनु पर्नेमा नगरप्रमुख श्रेष्ठले जोड दिए ।

‘सरकारले माध्यमिक तहसम्मको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएता पनि शिक्षक छनोट र विद्यालयको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहलाई नदिएसम्म विद्यालयका विषयमा स्थानीय पालिकालाई मात्र दोषी ठहराउन सकिदैन,’ उनले भने ।

अंग्रेजी माध्यममा पढाए पनि विद्यार्थीलाई नेपाली भाषामा नबुझाएसम्म उनीहरुले नबुझ्ने अवस्था भएकाले अंग्रेजी माध्यम व्यावहारिक नभएको प्रधानाध्यापकहरूले गुनासो पोखेका थिए ।

करिब डेढ दशकदेखि शिक्षण गर्दै आइरहेका शिक्षक शिबराम बोहजूले नेपालको संविधानमा प्रारम्भिक शिक्षा र प्राथमिक तहमा मातृभाषाको माध्यमबाट पढाउनु पर्ने व्यवस्था भएकोमा विद्यालयले सानोमा अंग्रेजी माध्यम र ठूला कक्षामा नेपाली माध्यम ऐच्छिक या अनिवार्यरुपमा राखेर उल्टो विधि अपनाएको बताए ।

उनले भने, ‘प्रश्न पत्र अंग्रेजी माध्यममा बनाउँदा अब्जेक्टिभ प्रश्नबाहेकका प्रश्नमा विद्यार्थीले लेख्न सकेको देखिएन ।’

बागेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले नेपाली माध्यममा भर्ना हुन आउने विद्यार्थीको संख्या एकदमै कम रहेको बताए । आफ्नो विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउँदा राम्रो नतिजा आएको अनुभव सुनाए ।

माउन्ट भ्यूका प्रिन्सिपल राजकुमार महर्जनले निजी विद्यालय अगाडि हुनुको कारण अंग्रेजी माध्यमले मात्र हो र ? भन्ने प्रश्नमा सबैले विचार गर्नुपर्ने बताए ।

त्यस्तै चाँगुनारायणको वाल्मिकेश्वर माविका प्रअ खगेन्द्र धमलाले शिक्षक जिम्मेवार र विद्यार्थी लगनशील हुनुपर्नेमा जोड दिए ।

प्रधानाध्यापकहरुले एकातिर अंग्रेजी माध्यमले पुराना शिक्षकहरुलाई सास्ती दिएको र अर्कोतर्फ विद्यार्थीहरुलाई घोकन्ते शिक्षातर्फ उन्मुख गराएको दुखेसो पोखेका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र केन्द्रीय विभागका डा. प्रेम फ्याकले ‘अंग्रेजी माध्यममा शिक्षाः सिद्धान्त, सोच र शिक्षण–सिकाइमा प्रभाव’ विषयमा प्रस्तुति दिएका थिए ।

  •  
  •  
  •  
  •  
  •