नेकपाले टुङ्गो लगायाे राष्ट्रियसभा उम्मेदवार

१८ पुस ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी माघ ९ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान बसेको सचिवालय बैठकले उम्मेदवारको नाम टुङ्गो लगाएको हो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठकाअनुसार प्रदेश १ बाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ । प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवान उम्मेदवार रहेका छन् । प्रदेश ३ मा महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाल, त्यस्तै गण्डकी प्रदेशबाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार बनाइएको छ ।

यसैगरी प्रदेश ५ बाट महिला उम्मेदवार बिमला घिमिरे, अपाङ्गतामा जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईको नाम टुङ्गिएको छ भने कर्णाली प्रदेशबाट अन्यमा मायाप्रसाद शर्मा र महिला कोटामा सुनिता केसी उम्मेदबार बनेका छन् । साथै, सुदूरपश्चिम प्रदेशबाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

राष्ट्रियसभा निर्वाचनका लागि नेकपाकाेे १६ उम्मेदवार मध्ये पूर्व एमालेबाट ९ जना र पूर्व माओवादीबाट ७ जना चयन भएका हुन् ।

  •  
  •  
  •  
  •  
  •