जनकपुरधाम उपमहानगरपालिका मेयरको कार्यकक्षमा पत्रकारमाथि हातपात

२२ पुस ०७६, धनुषा । जनकपुरधाम उपमहानगरपालिका मेयरको कार्यकक्षमा पत्रकारमाथि हातपात भएको छ ।

जानकी मन्दिरको जग्गा अतिक्रमणका बारेमा मेयर लालकिशोर साहसँग कुराकानी गर्न गएका पत्रकारमाथि उनका समर्थकले हातपात गर्दा तीन जना पत्रकार घाइते भएका हुन् ।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रकाअनुसार कुटपिटबाट पत्रकारत्रय अमरकान्त ठाकुर, सुभाष कर्ण र राजा झालाई चोट लागेको छ ।

सो नगरपालिकामा प्रवक्ता नतोकिएको हुँदा जानकी मन्दिरको जग्गा अतिक्रमणबारे कुराकानी गर्न उपमहानगरपालिका कार्यालय पुगेर भेटघाटका लागि पर्खिएर बसेका पत्रकारहरुले मेयर धारणा लिन खोज्दा उनका समर्थक र नगर प्रहरीले पत्रकारमाथि हातपात गरेको मिश्रले बताए ।

पत्रकारमाथि भएको हातपातबारे मेयर साहले कार्यकक्षमा आएर माइक मुखमै टाँसेर प्रतिक्रिया लिन खोजेको र आफैँ हो–हल्ला गरेको बताएका छन् ।

मेयर साहले आफ्ना समर्थक र नगर प्रहरीले यसरी प्रतिक्रिया नलिन आग्रह गरेको दाबी गरेका छन् ।

यस घटनाका विषयमा नेपाल पत्रकार महासंघ धनुषाले विरोध जनाएको छ । महासंघले घटनाको भत्र्सना गर्दै सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र पेशागत सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको छ ।

धार्मिक तथा सांस्कृतिक पहिचान बोकेको जानकी मन्दिर विश्वसम्पदा सूचीमा सूचीकरणका लागि सिफारिस भएको मन्दिर हो ।

  •  
  •  
  •  
  •  
  •