इरान-अमेरिका बीच द्वन्द्व जारी, नेपालको धाराणा सार्वजनिक

२४ पुस ०७६, काठमाडौं । दुई देश (इरान–अमेरिका) बीच विकसित पछिल्लो घटनाक्रमलाई लिएर नेपालले आफ्नो धाराणा सार्वजनिक गरेको छ ।

अमेरिकाले ड्रोन आक्रमण गरेर इरानका सेनापति कसिम सुलेमानीलाई हत्या गरेपछि दुई देशबीच विकसित घटनाक्रमका बारेमा नेपालले आफ्नो धाराणा सार्वजनिक गरेको हो ।

परराष्ट्र मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गरेर सबै विवाद र मतभेदहरुलाई शान्तिपूर्ण माध्यमबाट समाधान गर्नुपर्ने नेपालको अडान रहेको स्पष्ट पारेको छ ।

मध्यपूर्वमा कार्यरत नेपाली आप्रवासीहरुको सुरक्षा प्राथमिकतामा रहेको भन्दै मन्त्रालयले यस क्षेत्रमा शान्ति र स्थायित्वलाई खतरामा पार्ने काम-कारबाही नगर्न आग्रह गरेको छ ।

‘हामी सबै पक्षहरुलाई यस क्षेत्रमा तनाव बढाउने तथा शान्ति र स्थायित्वलाई खतरामा पार्ने खालका काम-कारबाही नगर्न आह्वान गर्छौं’ विज्ञप्तिमा भनिएको छ ।

इरानका सेनापति कसिम सुलेमानीलाई अमेरिकाले ड्रोन आक्रमणमा हत्या गरेपछि दुई देशबीच तनाव बढेसँगै इरानले पनि इराकस्थित अमेरिकी सैनिक अखडामा आक्रमण गरेर अमेरिकालाई चेतावनी दिएको छ ।

यसैबीच परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय घटनाक्रम, सुरक्षास्थिति साथै नेपाली नागरिकहरूको अवस्था लगायत विषयमा नेपाल सरकारका सम्बन्धित निकायका प्रतिनिधिहरुसँग बैठक गरेका छन् ।

सो बैठक परराष्ट्र मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुखको संयोजकत्वमा अन्तर्निकाय समन्वय समिति गठन गरेर नेपाली नागरिकहरूको आवश्यक सुरक्षाको लागि तयारी गर्ने निचोडमा पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •