तीन पत्रकार सम्मानित

२६ पुस ०७६, राजविराजे । २५ औं लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी विद्यानन्द राम सम्मानित भएका छन् ।

शनिबार २५ औं लोकेन्द्र स्मृति दिवसको अवसरमा नेपाल पत्रकार महासंघ शाखा, सप्तरीले आयोजना गरेको पुरस्कार वितरण समारोहमा अनुसन्धानात्मक समाचारका साथै विकृति एवं बेथिति विरुद्ध निर्भिकताकासाथ कलम चलाउने रामलाई प्रदान गरिएको हो ।

लोकेन्द्र स्मृति पत्रकारिता पुरस्कार कोषका संस्थापक सदस्य समेत रहेका राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल र महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खड्गाले रामलाई संयुक्तरुपमा नगद, दोसल्ला तथा प्रमाण पत्र प्रदान गरेका छन् ।

सोही समारोहमा वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराईद्वारा स्वर्गीय मातापिताको नाममा स्थापना गरिएको ‘लक्ष्मीमुक्ती स्मृति पत्रकारिता’ बाट पत्रकार व्यास शंकर उपाध्याय तथा वातावरण दैनिकका सम्पादक वैद्यनाथ झाले स्थापना गरेको उमासिंह स्मृति पत्रकारीता पुरस्कारबाट दिनानाथ यादव सम्मानित भएका छन् ।

महासंघ सप्तरीका अध्यक्ष खड्गाको अध्यक्ष तथा राष्ट्रिय सभा सदस्य प्याकुरेलको प्रमुख आतिथ्यमा आयोजित पुरस्कार वितरण समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेशकुमार झा, वरिष्ठ पत्रकार भट्टराई, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, नागरिक संजालका अध्यक्ष सुखराम यादव, प्रेस नेपाल प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरका थिए ।

  •  
  •  
  •  
  •  
  •