१६ दिन देखि वेपत्ता कुखुरा व्यवसायी मृत भेटिए

२७ पुस ०७६, राजविराज । सप्तरी जिल्लाको राजगढ गाउँपालिका ३ बाट १६ दिन देखि वेपत्ता एक कुखुरा व्यवासयीको शव भेटिएको छ ।

कुखुरा फर्ममै बस्दै आएका ४६ वर्षिय सूर्य नारायण मण्डल पुस ११ गते ग्राहकबाट उधारो रकम उठाउन ताकेदाका लागि जान्छु भन्दै हिडेका थिए । तर धेरै दिन वित्तिसक्दा पनि उनी नफर्केपछि आफन्तले प्रहरीमा जानकारी गराएका थिए ।

आफन्तबाट प्रहरीमा परेको हुलिया विवरण सहितको उजुरीको आधारमा उनको खोज तलास कार्य भईरहेकै बेला शनिबार साझ उनको मृत शरीर सोही वडास्थित रतनसागर पोखरी किनारमा फेला परेको डिएपी तिलक भारतीले बताए ।

मण्डलले सञ्चालन गर्दै आएको कुखुरा फर्म घटना स्थलबाट २ सय मिटरको दुरीमा रहेको छ । स्थानियले पोखरीमा टाउको देखेपछि प्रहरीलाई खबर गरेका थिए । डिएसपी भारतीले मण्डल मृत अवस्थामा भेटिएको तर हत्या भए नभएको यकिन हुन नसकेको बताए ।

डिएसपी भारतीका अनुसार मृतकको शव आईतबार पोष्टमार्टमका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विधान प्रतिष्ठान पठाइएको र पोष्टमार्टम रिपोर्ट आएपछि सत्य, तथ्य, यथार्थ बाहिर आउनेछ ।

स्थानियका अनुसार घरायसी विवादका लागि मण्डलकी पत्नी विगत १५ वर्ष देखि माइतमै बस्दै आएकी छिन् । मण्डल भने कुखुरा फर्ममै बस्दै आएका थिए । मृतक मण्डलका भाइ शिव नारायणले दाजु सूर्य नारायणको मृत्यु प्रकरण शङ्कैशङ्कामा घेरामा रहेको भन्दै यसको सुक्ष्म अनुसन्धान हुनुपर्ने माग गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •