अब मजदुर आन्दोलनलाई पिली कारवाही जस्तै बनाउनु पर्छ – अन्टुफ अध्यक्ष

१ माघ ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष जगत बहादुर सिम्खडाले मजदुरका आन्दोलनलाई पिली कारवाही जस्तै बनाउनु पर्ने बताएका छन् ।

अखिल नेपाल सेक्युरिटी मजदुर संघको उपत्यकामा उपलब्ध केन्द्रीय समिति र मूल कमिटीका अध्यक्षहरूको बैठकमा बुधबार प्रशिक्षणात्मक मन्यव्य राख्दै अध्यक्ष सिम्खडाले यस्तो बताएका हुन् ।

‘मजदुरको आन्दोलनलाई दबाउन मालिकसँग मिल्ने कसरी मजदुरको नेता हुनसक्छ ?’ प्रश्न गर्दै अन्टुफ अध्यक्ष सिम्खडाले भने, ‘अब मजदुरका संगठन मालिकसँग लड्न सकेन भने उसले खाइदिन सक्छ, त्यसैले सामाजिक सुरक्षा ऐन कार्यान्वयन नगर्ने र श्रम ऐनको गलत प्रयोग गर्नेहरुविरुद्ध अब पिली कारवाही जस्तै मजदुर आन्दोलनलाई उठाउनु पर्दछ ।’

अध्यक्ष सिम्खडाले मालिकसँग मिलेर मजदुरका आन्दोलनलाई शिथिल बनाउनेहरु मजदुर र मजदुरको संगठनको नेता हुन नसक्ने बताए । साथै, गुटबन्दी गर्ने अनि मालिकको सेवा गर्नेहरुले संगठनमा बखेडा झिक्ने गरेको भन्दै उनले भने, ‘अब त्यो प्रवृत्तिलाई जरैदेखि उखेलेर फालिने छ ।’

बैठकमा उपाध्यक्ष एस.बी.थापाले अमेरिकी परियोजना मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) राष्ट्रघाती, जनघाती रहेको स्पष्ट पार्दै यसका बारेमा आम मजदुर माझ व्यापक भण्डाफोर गर्नु पर्ने बताएका थिए ।

उपाध्यक्ष थापाले भारतीय पक्षबाट भइरहेको सीमा अतिक्रमणका बारेमा पनि मजदुरहरुले आवाज बुलन्द गर्नु पर्ने सुझाएका थिए ।

अन्टुफ केन्द्रीय अध्यक्ष एवम् सांसद जगत सिम्खडाको प्रमुख आतिथ्यतामा भएको उक्त बैठकमा उपाध्यक्षद्वय जय कार्की, एसबी थापा साथै कोषाध्यक्ष घनश्याम ठकुरी, प्रदेश ३ अध्यक्ष पिताम्बर गिरी, उपाध्यक्ष होम खड्का, सेक्युरिटी मजदुरका उपाध्यक्ष खगेन्द्र धिमाल, महासचिव मानबहादुर थिङ, बागमती प्रदेश संयोजक टीका थापा लगायतको आतिथ्यता रहेको थियोे ।

उक्त बैठक सेक्युरिटी मजदुरका अध्यक्ष लक्ष्मी ढकालको अध्यक्षता एवम् सञ्चालनमा बसेको थियो ।

  •  
  •  
  •  
  •  
  •