मनाङमा दैनिक १ हजार बढी पर्यटक भित्रिदै, प्रहरीको उच्च सतर्कता

 

मनाङ । पर्यटन वर्ष २०२० सुरुभएसँगै मनाङमा पनि पर्यटकको चहलपहल बढेको छ । यतिबेला जिल्लामा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्रिने संख्या बढ्दै गइरहेको छ ।

जिल्ला आउने पर्यटकको रोजाई तिलिचो ताल अग्रस्थानमा रहेको छ । उच्च स्थानमा रहेको मनोरम तिलिचो तालमा पुग्ने पर्यटकको संख्या बढ्दै गर्दा त्यहाँ पुग्ने पर्यटकका सुरक्षाका लागि मनाङ प्रहरीले उच्चसतर्कता अपनाएको छ ।

अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने महत्वपूर्ण गन्तब्य तिलिचो तालमा पुग्ने पर्यटकहरुका सुरक्षाका लागि मनाङ प्रहरीले यस क्षेत्रमा गस्ती समेत सुरु गरेको छ ।

मनाङको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) टीका बहादुर कार्कीको कमाण्डमा ५१०६ मिटर उचाइमा रहेको लार्केपासमा गस्ती गर्नुका साथै स्थानीय सरकारका जनप्रतिनिधिसँग सुरक्षा सम्बन्धी अन्तरक्रिया समेत गरेको छ ।

अन्नपूर्ण पदमार्गमा आउने प्रर्यटकको चाप बढेसँगै उनीहरुको सुरक्षाका लागि प्रहरी तिलिचोसम्म पुगेको भन्दै डिएसपी कार्कीले भने, ‘प्रहरी गस्तीले पर्यटकलाई आफु सुरक्षित छु भन्ने महशुस हुनेछ ।’

प्रहरीले पर्यटकीय क्षेत्रमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत ग्रामिण पर्यटकीय सामुदायिक गस्ती सञ्चालन गरिएको पनि जनाएको छ ।

जिल्ला भित्रिने सबै नागरिकको जीउधनको सुरक्षाको लागि प्रहरी दत्तचित्त भएर लागिपरेको भन्दै प्रहरी प्रमुखले मनाङमा आउने पर्यटकका लागि सुरक्षाको चिन्ता नरहेकाले पर्यकलाई भ्रमणमा आउन समेत आग्रह गरे ।

स्वदेशी र विदेशी पर्यटक लगभग बराबरीको संख्यामा आउने मनाङमा अहिलेको सिजनमा दैनिक १ हजार भन्दा बढी पर्यटक भित्रिने गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •