पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु

७ माघ ०७६, काठमाडौं । मकवानपुरको दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बेहोस अवस्थामा भेटिएका ८ भारतीय पर्यटकको मृत्यु भएको छ ।

थाहा नगरपालिका–४ दामनस्थित उक्त रिसोर्टमा अर्धचेत अवस्थामा रहेका आठै जनालाई कैलाश एयरको हेलिकोप्टरमार्फत काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

मृत्यु हुनेमा भारत केरलाका ३८ वर्षीय रञ्जितकुमार, उनकी ३४ वर्षीया श्रीमती इन्द्रलक्ष्मी र उनीहरूका ५ वर्षीय छोरा वैष्णव ३७ वर्षीय प्रवीणकृष्ण नायर र उनकी ३२ वर्षीया श्रीमती शाक्य शशी, उनीहरूका छोरा ५ वर्षीय अभी, छोरीहरू ७ वर्षीया अर्चना र ९ वर्षीया बन्द्रा छन् ।

उनीहरु १५ जनाको समूहमा नेपाल घुम्न आएका थिए । तीमध्ये ८ जना एउटै कोठामा ग्यास हिटर बालेर सुतेका थिए । दुई जना बस्नुपर्ने कोठामा ठूलो ग्यास हिटर बालेर आठ जना बसेका कारण अक्सिजन अभावमा उनीहरूको निसास्सिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान गरेको छ ।

  •  
  •  
  •  
  •  
  •