‘बिहेवारी बीस वर्षपारि’ नारामा सीमित

देवराम प्रसाद यादव । युवायुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी बीस वर्षपारि’ भनाइ झुण्डिएको भएपनि व्यावहारिक परिपालनमा चुनौति देखिएको छ ।

सप्तरी जिल्लामा केही सचेत युवा, युवती र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागिपरे पनि विशेष गरी मधेशी, तथा मुस्लिम समुदायमा बालविवाह रोक्न नसकिएको बाल अधिकारकर्मी सौरभ यादवले बताए ।

सप्तरी जिल्लामा बालविवाह कतिले गरिरहेका छन् भन्ने यकिन तथ्याङ्क नभएपनि बालविवाह बढ्दै गएको बालविवाहको क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको बुझाई छ ।

गत आर्थिक वर्षमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र राजविराजमा बालविवाहका छ वटा उजुर परेपनि मधेशी र मुस्लिम समुदायमा बालविवाह त निर्वाध हुने गरेको अधिकारकर्मी मनोहर पोखरेलले बताए ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाइले दुई परिवारको सहमतिमा हुने बालविवाह कानूनले नियन्त्रण गर्न नसकिने भएकाले अभिभावकमा नै जागरण ल्याउनुपर्ने खाँचो रहेको बताए ।  बीस वर्षभन्दा कम उमेरमा विवाह गरेमा यसलाई नेपालको कानूनले बालविवाह मान्ने भएपनि सप्तरी जिल्लामा बालविवाह बढ्दै गएको अधिकारकर्मीहरु बताउँछन् ।

बालविवाह रोकथामका लागि सरकारी तथा गैर सरकारी सङ्घसंस्थाले काम गरिरहेका छन् । बालविवाह केही मात्रामा न्यूनीकरण भए तापनि पूर्णरुपमा रोकिन भने सकेको छैन ।

नेपालको कानूनले बालविवाह गर्ने र गराउनेलाई तीन वर्ष कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था गरेको छ तर, बालविवाह रोकथामका लागि बनाइएका कानून प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको छैन । बालविवाहका घटना बढ्दै गएको अवस्था छ । बालविवाह रोकथामका लागि स्थानीय सरकार र सङ्घसंस्थाले सामूहिक पहल गर्नुपर्ने अधिवक्ता पुण्य प्रसाद यादवको सुझाव छ ।

सप्तरी जिल्ला मधेशी र मुस्लिम समुदायको बाहुल्यता भएको जिल्ला भएकाले विशेष गरेर सो समुदायमा २० वर्ष नपुग्दै विवाह गर्ने प्रचलन छ तर, कानूनले २० वर्षपछि विवाह गर्न पाउने व्यवस्था गरेको छ । केही महिनाअघि सप्तरीेमा छोरीको विवाह १६ वर्षमा नै गर्न पाउँ भनेर मागसमेत उठेको थियो । सो मागलाई समाजका अगुवाले गैरकानूनी माग भनेर टिप्पणी गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •