राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले दिए राजीनामा

१० माघ ०७६, काठमाडौं । राष्ट्रपतिका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन् ।

सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै सल्लाहकार प्याकुरेलले शुक्रबार आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेका हुन् ।

प्याकुरेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यता र कानुनी सर्वोच्चताको अक्षरशः पालनाका लागि औपचारिक परिधिभन्दा बाहिर र काम गर्नका लागि राजीनामा दिएको बताएका छन् ।

राजनीतिक प्रणालीभित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उज्यालो बनाउने पर्ने बताएका छन् । यसका लागि सत्तारुढ दल नेकपाले सबैभन्दा बढी योगदान गर्न सक्ने पनि प्याकुरेलले विज्ञप्तिमा जनाएका छन् ।

मानवअधिकार क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो । उनी राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा पनि दुई वर्ष  सल्लाहकार   थिए ।

  •  
  •  
  •  
  •  
  •