अग्नि सापकोटा सर्वसम्मत सभामुख चयन

१२ माघ ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्नि सापकोटा सभामुख चयन भएका छन् ।

आइतबार बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत सभामुख चयन गरेको हो ।

नेकपाका नेता सुवास नेम्बाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव पेश गरेका थिए भने नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ, सांसद ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णले समर्थन गरेका थिए ।

सभामुख सापकोटालाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार शितल निवासमा सपथ गराउने कार्यक्रम रहेको छ ।

संसद सचिवालयमा कार्यरत एक महिलामाथि बलात्कार प्रयासको आरोपमा लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएसँगै सभामुख पद गत असोजदेखि रिक्त रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •