जातीय मुक्तिको कुरा साम्राज्यवादीहरुले भनेको भन्दा बिल्कुल फरक कुरा हो – प्रचण्ड

१३ माघ ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले सामन्तवाद विरुद्धको एउटा लडाइँ जिते पनि युद्ध जित्न बाँकी नै रहेको बताएका छन् ।

अध्यक्ष प्रचण्डले सोमबार राष्ट्रिय सभागृहमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति राष्ट्रिय महासंघ नेपालको एकता पश्चात गठन भएको आदिवासी जनजाति महासंघ, नेपालको एकता घोषणा-सभा तथा शपथ–ग्रहण समारोहको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

‘अझै एकताबद्ध हुनुपर्ने र बदलिएको परिस्थितिमा हिजोको आन्दोलन र बलिदानबाट जे जति उपलब्धि प्राप्त भएका छन्, तिनको रक्षा गर्ने कुरामा सतर्क रहनुपर्ने भएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘हामीले यो बिषयलाई जनवादी क्रान्तिको पूर्णता र समाजवादी क्रान्तिको तयारीसँग जोडेर हेर्न आवश्यक छ ।’

उनले सबैलाई समान अधिकार प्राप्तिको सुनिश्चितता नहुँदासम्म, सामन्ती राज्यद्वारा विभेद र उत्पीडनमा पारिएकाहरुलाई विशेष अधिकारसहित अगाडि ल्याउने वातावरण नबन्दासम्म समानताको कुरा गर्नु भ्रम मात्रै हुने बताए ।

अध्यक्ष प्रचण्डले पूँजीपतिहरु र साम्राज्यवादीहरुले जातीय प्रश्नको कुरा गर्दा जहिले पनि साप्रदायिक विद्वेष फैलाउने र जाति जातिको बीचमा लडाइँ सृष्टि गर्ने गर्दै आएको बताउँदै भने, ‘कम्युनिष्टहरुले भन्ने गरेको जातीय हक, अधिकार र मुक्तिको कुरा बुर्जूवाहरु र साम्राज्यवादीहरुले भनेको भन्दा बिल्कुल फरक कुरा हो । यही निर कहिलेकाँही बुद्धिजीवीहरु पनि भ्रममा पर्ने गर्दछन् ।’

दुई सय ६१ सदस्यीय आदिवासी जनजाति महासंघ नेपालको इन्चार्ज गोकुल घर्ती मगर, सहइन्चार्ज कमानसिंह लामा साथै संयोजक सुरेश आले मगर र सहसंयोजक शेरबहादुर तामाङ रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •