नेकपा अध्यक्ष प्रचण्ड’र बेलायती राजदूत पोलिटबीच शिष्टाचार भेटवार्ता

२३ माघ ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि संयुक्त अधिराज्यका (बेलायत)की नवनियुक्त राजदूत निकोला पोलिटबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बिहीबार बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटवार्तामा सदियौंदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकास र नेपालको शान्ति प्रक्रियाका बारेमा छलफल भएको थियो ।

भेटमा अध्यक्ष प्रचण्डले नेपालको विकासमा बेलायत र बेलायती जनताले गर्दै आएको सहयोग र खेलेको भूमिका सह्रानीय भएको बताउँदै भने –‘नेपाल र बेलायतबीच सयौं वर्षदेखिको मित्रता रहेको छ । तपाईको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु ।’

भेटमा अध्यक्षले नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको बताए ।

त्यसैगरी,  बेलायती राजदूत निकोलाले आफू २० वर्ष पहिले शोधकर्ताका रूपमा नेपाल आएको र अन्नपूर्ण रूटमा ट्रेकिङ गरेको स्मरण गरेका थिए । उनले नेपालको विकासमा बेलायत सरकारको सहयोग रहने विश्वास व्यक्त गरे ।

  •  
  •  
  •  
  •  
  •