ललिता निवास जग्गा प्रकरणमा अख्तियारको निर्णयमाथि कांग्रेसको प्रश्न

२३ माघ ०७६, काठमाडौं । नेपाली कांग्रेसले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णयमाथि प्रश्न उठाएको छ ।

काँग्रेस उपसभापति विजयकुमार गच्छदारमाथि राजनीतिक पूर्वाग्रहका आधारमा मुद्दा चलाएको दाबी गर्दै काँग्रेसले जग्गा फिर्ता गर्न मञ्जुर भएकै कारण अख्तियारले नवीन पौडेलमाथि मुद्धा नचलाउने निर्णय गरेको भन्दै प्रश्न उठाएको हो ।

बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘प्रधानमन्त्री र चार दर्जनमन्त्रीलाई उन्मुक्ति दिने, विजय गच्छदारलाई मुद्दा चलाउने के हो ?’

कांग्रेसले तत्कालीन प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराई साथै मन्त्रिपरिषद्का सदस्यहरुलाई मुद्दा नचलाएर गच्छदारलाई मुद्दा हाल्नु पूर्वाग्रह भएको बताएको छ ।

बालुवाटारमा जग्गा भएका ६७ मध्ये ६५ जनालाई मुद्दा चलाउने तर नेकपाका महासचिव विष्णु पौडेलका छोरा नबीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीले सरकारलाई जग्गा छाड्न तयार नभएको भन्दैमा अख्तियारले मुद्दामा नचलाएको भन्दै प्रश्न उठाएको हो ।

बालुवाटार जग्गा प्रकरण अदालतमा पुगिसकेकाले काँग्रेसले छानबिनमा सहयोग गर्ने तर राजनीतिक रुपमा प्रतिवाद गर्ने जनाएको छ ।

काँग्रेसको धारणा सार्वजनिक भएसँगै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले ललिता निवास प्रकरणमा राजनीतिक पूर्वाग्रह अस्वीकार गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटोले अदालतबाट आफू निर्दोष प्रमाणित भएर आउनु पर्ने भन्दै अदालतले जे फैसला गर्छ सरकारले त्यही कार्यान्वयन गर्ने बताए ।

बुधबार अख्तियारले गच्छदारसहित १७५ जनामाथि मुद्दा दायर गरेको छ । यसको विरोध गर्दै कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठक नै अवरुद्ध गरेको छ ।

  •  
  •  
  •  
  •  
  •