नेपालले चीनलाई दियो एक लाख मास्क

२४ माघ ०७६, काठमाडौं । नेपालले कोरोना भाइरससँग जुधिरहेको चीनलाई एक लाख थान प्रोटेक्टिभ मास्क सहयोग गरेको छ ।

सरकारको निर्णय अनुसार शुक्रबार परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र स्वास्थ्य तथा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चिनियाँ राजदुत होउ यान्छीलाई मास्क हस्तान्तरण गरेका हुन् ।

परराष्ट्र मन्त्रालयमा आयोजित सहयोग सामाग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको संक्रमणमा नेपाल लगायत अन्तर्राष्ष्ट्रिय समुदायबाट प्राप्त सहयोग र एकता चीनका लागि महत्वपूर्ण भएको बताइन् ।

निमोनियाको लक्षण जस्तै देखिने र सार्ससँग मिल्दोजुल्दो कोरोना भाइरसको कारण चीनमा पाँच सय ६० जनाभन्दा बढीको मृत्यु भइसकेको बताइन्छ । सरकारी तथ्यांकअनुसार २८ हजारभन्दा बढी मानिस यस भाइरसबाट संक्रमित छन् ।

चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सबैभन्दा पहिले चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको पनि कोरोना भाइरसकै कारण मृत्यु भएको छ ।

बिहीबार प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सचिवहरु लगायत सुरक्षा निकायका प्रमुखसहितको बैठकले नोवल कोरोना भाइरसँग जुधिरहेको चीनलाई १ लाखको संख्यामा प्रोटेक्टिभ मास्क सहयोग गर्ने निर्णय गरेका थिए ।

 

  •  
  •  
  •  
  •  
  •