जनयुद्धलाई आत्मैदेखि स्वीकार गरिएन भने ‘एकता’ मोर्चामा परिणत हुनसक्छ – जगत सिम्खडा

२ फागुन ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघ र जनसांस्कृतिक महासंघ नेपालद्वारा २५औं जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिहीबार पेरिसडाँडा, कोटेश्वरमा आयोजित शुभकामना तथा सांस्कृतिक कार्यक्रममा महासंघका अध्यक्ष जगत सिम्खडाले राख्नुभएको शुभकामना मन्तव्यको सम्पादित अंश…

२५औं जनयुद्ध तथा जनआन्दोलन सहिद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू, मञ्चमा आसिन अतिथिज्यूहरू, यस कार्यक्रममा सहभागी सम्पूर्ण कमरेडहरू साथै पत्रकार साथीहरू,

बन्दुकको नालमा टिकेको राज्यसत्तालाई बन्दुकद्वारा नै भत्काउनु पर्दछ भन्ने मान्यताका साथ २५ वर्ष अगाडि साम्राज्यवाद, विस्तारवादबाट पालित पोषित देशीय सामन्तवादविरुद्ध तत्कालीन माओवादीले जनविद्रोहको शंखघोष ग-यो । दश वर्षसम्म जनयुद्ध भयो । त्यही जनयुद्धले नेपालका असमानताहरू जुन वर्गीय, क्षेत्रीय, लिङ्गीय विभेदहरू हटाउन सफल भयो । हिजो हामीले संघीयताको कुरा गर्दा देश टुक्र्याउने बिखण्डनकारीहरू भन्थे, हामीले पहिचानका कुरा गर्दाखेरि जातीय द्वन्द्व निम्त्याउने कुरा हुन् भन्थे । हामी राजतन्त्र अन्त्य हुनु पर्दछ, गणतन्त्र नेपाल बनाउनु पर्दछ भन्दा हामीलाई उपहासको पात्र बनाइन्थ्यो । हिजो जनुयद्धले जुन मुद्दाहरू उठायो आज मुलुक त्यही बाटोमा अघिबढिरहेको छ, संघीय गणतन्त्र नेपाल, समानुपातिक, समावेशी नेपाल बनेको छ ।

अहिले कता कता नमिठो अनुभूति हुन्छ, जनयुद्धमा बगेको रगत, जनयुद्धका सहिद, बेपत्ता, घाइते अपाङ्गहरूलाई नजरअन्दाज गरिएको होकी भन्ने लाग्छ । जनयुद्धका उपलब्धिहरूलाई सत्तामा यो वा त्यो रुपमा ग्रहण गर्ने, सहिद, वेपत्ता, घाइते, अपाङ्गहरूलाई अर्कै ठान्ने परिघटनाहरू हामीले देखिरहेका छौं ।

मलाई लाग्छ, पार्टी एकता करिबकरिब टुङ्गिसकेको छ । जनवर्गीय संगठनहरू एकताको प्रक्रियामा छौं । एकताको प्रक्रियामा कता-कता जनयुद्धका सहिद, वेपत्ता, घाइते, अपाङ्गहरूप्रति अपमान गर्ने, जनयुद्ध शब्द सुन्न नचाहने प्रवृत्ति पनि कता-कता देखिएका छन् ।

यदि, जनयुद्धलाई आत्मैदेखि स्वीकार गर्न सक्दैनौं भने जनयुद्धका सहिद, वेपत्ता, घाइते, अपाङ्गहरूको त्याग र बलिदानी स्वीकार गरिएन भने सम्मान गर्न सकिएन भने यो पार्टी एकता भोलि सार्थक एकता नभई यो एउटा मोर्चाको रुपमा परिणत हुनसक्छ । कुनै पनि मोर्चा जस्तै मुद्दा मिलेको अवस्थामा एक ठाउँमा हुने, नमिल्दा अलग हुने प्रक्रिया पनि नहोला भन्न सकिँदैन् । यो कुरा किन राखिएको हो भने, जबजब सहिद, वेपत्ता, घाइते, अपाङ्गहरूका कुरा आउँछ, जनयुद्धको कुरा आउँछ विचारमै विविधता देखिन थाल्छ ।

तत्कालीन जनमुक्ति सेनासँग अत्तालिएका तत्कालीन शाही सेनाले फागुन ११ गते कालिकोटको कोटवाडामा काम गरिरहेका २१ मजदुरहरूलाई एउटै चिहान बनाएको थियो । उक्त दिनको स्मरणमा हाम्रो संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले फागुन ११–२१ लाई मजदुर बलिदानी दिवसका रुपमा मनाउँदै आइरहेका छौं । त्यो बिरासतलाई हामी अगाडि बढाउने छौं ।

अन्त्यमा, सहिदको सम्मान भनेको सहिदले देखेका अधुरा काम र अपुरा सपनाहरूलाई पुरा गरेर अगाडि बढ्नु नै हो । तर, अहिले हामी कताकता बिचलित भएको जस्तो, हाम्रो पार्टी संगठनहरू बिचलित भएजस्तो, बाटो बिराए जस्तो देखिएको छ । नेतृत्व कमरेडहरूले त्यो स्वीकार पनि गर्नुभएको छ । त्यसैले २५औं जनयुद्ध दिवसको अवसरमा हामीले सहिदहरूलाई, बेपत्ता योद्धाहरूलाई स्मरण गर्दै उहाँहरूको अधुरा सपनाहरूलाई पूरा गर्नु जरुरी छ । त्यसैले देश विदेशमा रहेका सम्पूर्ण श्रमजीवी वर्गप्रति समाजवादतर्फ अघि बढ्न सहिद, बेपत्ता योद्धाहरूको उच्चसम्मान गर्दै उहाँहरूको अधुरा सपनाहरूलाई पूरा गर्न अघि बढौं भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु ।

  •  
  •  
  •  
  •  
  •