जनयुद्ध र जनआन्दोलनको फ्युजनले गर्दा आज हामी यहाँ छौं – मणि थापा

२ फागुन ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणि थापाले कम्युनिष्टहरू वर्गसंघर्षबाट बाहिर जान नसक्ने बताएका छन् ।

बिहीबार २५औं जनयुद्ध दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) र जनसांस्कृतिक महासंघले आयोजना गरेको शुभकामना तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् ।

“जनयुद्ध त्यो बेलाको क्लाइमेक्स थियो, त्यो क्लाइमेक्सबाट परिवर्तन कहाँ आयो भन्दा राजतन्त्रको अन्त्य, संघीय लोकतन्त्रिक गणतन्त्रको प्राप्ति भयो” नेता थापाले अगाडि भने, “जनयुद्ध अगाडि भएका आन्दोलनहरू गलत थिए भन्दैनौं तर जनयुद्ध र जनआन्दोलनको फ्युजनले गर्दा नै आज हामी यहाँ छौं ।”

उनले कसैको पनि इतिहास मेटाउन नहुने भन्दै वर्तमान सुरक्षित गर्न इतिहासको चर्चा हुनु जरुरी रहेको बताए । उनले भने, “जनयुद्धलाई कसैले नजरअन्दाज ग¥यो भने; इतिहास हामीले मेटायौं भने वर्तमान पनि सुरक्षित गर्न सक्दैनौं र भविष्यलाई पनि सुरक्षित गर्न सक्दैनौं ।”

पार्टी ठूलो भएर मात्रै नहुने भन्दै नेता थापाले भने, “विचारमा स्खलित भयो भने, इतिहासमा डेभिएसन भयो भने, नेपालका वर्ग जाति, क्षेत्रको बनोटलाई नबुझ्ने हो भने हामी दुई तिहाई, तीन तिहाई छौं भनेर हुँदैन् । पार्टीलाई जनपक्षीय बनाउन, राष्ट्रियतालाई सुदृढ गर्न, जनजिविकाका विषय सवल बनाउन विचारलाई सुदृढ गरेर अघि बढ्नु पर्दछ ।”

उनले सहिदहरूका अधुरा सपना पूरा गर्न राजनीतिक क्रान्ति, आर्थिक क्रान्ति र सांस्कृतिक रुपान्तरण जरुरी रहेकाले त्यसतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

  •  
  •  
  •  
  •  
  •