एकताको लागि तयारी अवस्थामा रहन मातहतका संगठनलाई अन्टुफको निर्देशन

३ फागुन ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघको सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले एकताका लागि तयारी अवस्थामा रहन मातहतका संगठनलाई निर्देशन समेत दिएको छ ।

शनिबार महासंघको केन्द्रीय कार्यालय कोटेश्वरमा महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाको अध्यक्षतामा र फ्र्याक्सन इन्चार्ज जयपुरी घर्तीको प्रमुख आतिथ्यतामा बसेको बैठकले अन्टुफ–जिफन्ट एकताका लागि तयारी अवस्थामा रहन मातहतका संगठनलाई निर्देशन दिएको हो ।

अन्टुफ–जिफन्ट एकताबारे महत्वपूर्ण निर्णय लिइएको भन्दै बैठकमा सहभागी एक सचिवालय सदस्यले भने, “नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठकले एकतासम्बन्धी लिएको निर्णयअनुरुप नै एकताको बाँकी काम सम्पन्न गर्ने लगायतका सांगठनिक निर्णयहरू गरिएको छ ।”

 

महासंघको सचिवालय बैठकले मातहतका सातै प्रदेश महासंघ र पेशागत संगठनहरूलाई एकताका लागि पूर्णतयारी अवस्थामा रहन र चुस्त दुरुस्त अभिलेख राख्न निर्देशन समेत दिइएको ती सदस्यले खुलाएका छन् ।

यस्तै बैठकले लिएको निर्णयबारे संक्षिप्त जानकारी दिँदै ती सदस्यले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचीकृत नहुने रोजगारदाता, औधोगिक प्रतिष्ठानहरूमा संघर्षका कार्यक्रम सञ्चालन गर्ने निर्णय लिइएको बताए ।

मजदुरहरूले श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा ऐन अनुसार माग पत्र राखेकै आधारमा अधिकांश रोजगारदाताहरूले पछिल्लो समय श्रम ऐनको गलत व्याख्या र प्रयोग गरी मजदुरलाई रोजगारीबाट निश्कासन गर्ने कार्य जारी राखेको भन्दै ती सदस्यले त्यस्ता गतिविधि नरोकिए रोजगारदाता र औधोगिक प्रतिष्ठानहरूलाई निकट भविष्यमा ठूलो मूल्य चुकाउन तयार भई बस्न चेतावनी समेत दिए ।

  •  
  •  
  •  
  •  
  •