संघ–संस्थाको बागमती प्रदेश अध्यक्ष चुनिए रामभक्त बुढाथोकी

३ फागुन ०७६, काठमाडौं । अखिल नेपाल संघ–संस्था तथा बैंक बित्तीय श्रमिक संघ बागमती प्रदेश समिति गठन भएको छ ।

शनिबार अखिल नेपाल ट्रेड युनियन महासंघको कार्यालय पेरिसडाँडामा भएको भेलाले रामभक्त बुढाथोकी ‘मिलन’को अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति गठन गरेको हो ।

बुढाथोकीको अध्यक्षतामा गठित कार्य समितिमा उपाध्यक्ष अर्जुन सिवाकोटी, सचिव प्रेम भुजेल, सहसचिव राजु बिष्ट, कोषाध्यक्ष युनिशा चौलागाईं लगायत २१ सदस्य रहेका छन् ।

उक्त भेलामा अन्टुफ कोषाध्यक्ष घनश्याम ठकुरीको प्रमुख आतिथ्यता, पेशागत संघका केन्द्रीय अध्यक्ष राजन पाण्डेको विशेष आतिथ्य साथै पेशागत संघका उपाध्यक्ष इन्दिरा शर्मा, महासचिव कल्याण भण्डारीको आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि घनश्याम ठकुरीले अहिलेको राजनीतिक परिस्थितिबारे चर्चा गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघको नीति, कार्यक्रम साथै एकताका सन्दर्भ प्रशिक्षणात्मक मन्तव्य राखेका थिए ।

यसैगरी संघका केन्द्रीय अध्यक्ष एवम् विशेष अतिथि राजन पाण्डेले श्रम ऐन साथै योगदानमा आधारित सामाजिक सुरक्षा कोष ऐनका बारेमा प्रशिक्षणात्मक मन्तव्यसहित श्रमिकका हक र अधिकारका लागि एकढिक्का भएर संघर्षमा जानुपर्ने बताएका थिए ।

सो कार्यक्रममा नयाँ कार्य समितिलाई काठमाडौं जिल्ला उपाध्यक्ष कमलनाथ दाहालले पनि शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन कैलाश दाहालले गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •