महराले पाए अदालतबाट सफाइ, समर्थकहरूले लगाए एमसीसी खारेजको नारा

५ फागुन ०७६, काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका छन् ।

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा डिल्लीबजार कारागारमा रहेका महराले जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाएका हुन् ।

अदालतबाट सफाइ पाएका निवर्तमान सभामुख महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहने बताएका छन् ।

सोमबार एक बक्तव्य जारी गर्दै महराले भनेका छन्, ‘मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ ।’

संसद सचिवालयकी एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि १९ असोजमा पक्राउ परेका थिए ।

मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) विरुद्ध नारा !

निवर्तमान सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागारबाट छुट्दा मिलेनियम च्यालेन्ज सम्झौता (कम्प्याक्ट) विरुद्ध नारा लागेको छ ।

कारागार बाहिर भेला भएका महराका समर्थकहरूले “एमसीसी खारेज गर” भन्दै चर्का नारा लगाएका थिए ।

स्मरणीय के छ भने, महरा पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदमा रोकिएको आरोप लगाएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कतिपयले एमसीसी रोकेकै कारण महरालाई फसाइएको दाबीसमेत गरेका थिए ।

नेकपाभित्र एमसीसीको पक्ष र विपक्षमा बिबाद कायमै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र एमसीसीको पक्ष र विपक्षमा बिबाद कायमै छ । प्रधानमन्त्री ओली एमसीसी तत्काल पास गर्नुपर्ने पक्षमा छन् भने केही नेताहरु यथास्थितिमा पास गर्न नसकिने पक्षमा देखिएका छन् ।

एमसीसी सम्झौताका सवालमा नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकले झलनाथ खनालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल नै गठन गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •