कोरोना भाइरसबाट बच्न र बचाउन विद्यार्थीहरुको नौलो प्रयास

७ फागुन ०७६, सप्तरी । कोरोना भाइरसका कारण सबैतिर सन्त्रास फैलिरहेको बेला उक्त भाइरसविरुद्ध महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका विद्यार्थीहरुले नौलो कार्यक्रम सञ्चालन गरेका छन् ।

क्याम्पस हातामै बुधबार एक कार्यक्रमको आयोजना गरी कोरोना भाइरसको प्रभाव र यसबाट जोगिने उपायबारे विद्यार्थीहरुले सचेतनामुलक कार्यक्रम गरेका हुन् ।

माईक्रोबायोलोजी चौथो वर्षमा अध्यनरत १० जना विद्यार्थीले सरोकारवालाहरुलाई राखेर कोरोना भाइरसको संक्रमण र यसबाट सुरक्षित रहने उपायबारे विभिन्न आकृति निर्माण तथा श्रव्यदृश्य लगायतका माध्यमबाट सचेतना फैलाउने कार्यको शुभारम्भ गरेका हुन ।

कार्यक्रममा सहभागीहरुले संसारभर त्रास फैलाएको कोरोना भाइरसको त्रास र जोखिमबारे सत्यतथ्य जानकारी दिने र यसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने सन्देशसहित विद्यार्थीहरुले थालेको नौलो प्रयासको प्रशंसा गर्दै स्वास्थय क्षेत्रमा क्रियाशील संस्थाहरुले समेत यस्ता कार्यक्रमहरु सञ्चालन गरे जनसाधरण सचेत हुने बताएका थिए ।

सो क्याम्पसका माइक्रोबायोलोजी विभागका प्रमुख सियाराम भगतले माइक्रोबायोलोजी अध्यनरत अंजली ठाकुर, आफरिन कौशर, टिना आनन्द, किरण गुप्ता, पुजा दास, पुजा साह, हिरा कुमारी साह, प्रियंका देव, आर्दश राज, शिवचन्द्र यादव र सुस्मिता सोनी गरी १० जना विद्यार्थी मिलेर सचेतनामुलक कार्यक्रम तयार पारेको जानकारी दिए ।

राजविराज नगरपालिकाकी उपप्रमुख साधना झाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख डा.सर्वेशचन्द्र मिश्रले गरेका थिए ।

  •  
  •  
  •  
  •  
  •