दुधे शिशु बोकेर महिलाहरू साम्राज्यवादविरुद्ध उभिएको देख्दा छाती गर्वले फुल्थ्यो – जय कार्की

भेनेजुएलामा साम्राज्यवादविरुद्धको ऐक्यवद्धता समारोह सम्पन्न

जय कार्की/भेनेजुयला संस्मरण ।

यस वर्षको जनवरी २२ देखि २५ सम्म समाजवादी राष्ट्र भेनेजुएलाको राजधानी काराकासमा साम्राज्यवादविरुद्धको ऐक्यवद्धता समारोह भएको थियो ।

उक्त ऐक्यवद्धता समारोहमा ऐक्यवद्धता/सहभागिता जनाएर अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष जय बहादुर कार्की नेपाल फर्किसकेका छन् । उपाध्यक्ष कार्कीले भेनेजुएलामा त्यहाँको सिमोन बोलिभार समाजवादी सरकारले आयोजना गरेको सो कार्यक्रमलाई कसरी लिएका रहेका छन् । सार संक्षेपमा प्रस्तुत गरिएको छ :

समाजवादी राष्ट्र भेनेजुएलाको राजधानी काराकासमा यही जनवरी २२ देखि २५ सम्म साम्राज्यवादविरुद्धको ऐक्यवद्धता समारोह भएको थियो । उक्त समारोह त्यहाँको सिमोन बोलिभार समाजवादी सरकारले आयोजना गरेको थियो ।

सिमोन बोलिभार भेनेजुएलाका साम्राज्यवाद, उपनिवेशवादका विरुद्धमा लडेर देशलाई मुक्त गर्ने महान् योद्धा रहेछन् । मिराण्डा भन्ने अर्का निकै अघिल्लो पुस्ताका क्रान्तिकारी योद्धा रहेछन । त्यसपछिको पुस्ता रहेछ पूर्वराष्ट्रपति ह्युगो चाभेज ।

चाभेज उनीहरुका लागि सबै थोक हुन् । उनैले पछिल्लो चरणको नेतृत्व गरेका रहेछन् भने निकोलस मदुरो त्यसपछिका अर्का चर्चित राष्ट्रपति रहेछन् । उनी ह्युगो चाभेजको सबैभन्दा निकटस्थ र विश्वासपात्र साथी रहेछन् ।

मूलतः पाँच महादेशबाट हजारौंको संख्यामा सहभागीहरू उक्त कार्यक्रममा पुगेका थिए । कार्यक्रम बिशाल अन्तर्राष्ट्रिय महोत्सवमा परिणत हुन पुगेको थियो । रोचक पक्ष, पाँचवटा महादेशबाट जम्मा भएका मानिसहरू अलगअलग महादेशबाट सहभागी भएको जस्तो त्यहाँ अनुभूत हुँदैनथ्यो । किनभने, सबै एउटै उद्देश्यमा दृढ संकल्पित देखिन्थे ।

त्यहाँ कुनै कसैले आफू ठूलो मुलुक र विकसित मुलुकको वा सानो र विकाशोन्मुख, अल्पविकसित देशको हो जस्ता असमानता देखिँदैन्थ्यो ।
सहभागीहरू सबैलाई बराबरी सम्मान र सत्कार गरिएको थियो । चाहे बेलायतको होस्, चाहे फ्रान्सको होस् चाहे रुसी महासंघको होस्, चाहे अमेरिकाको होस्, चाहे अष्ट्रेलियाको होस् सबै–सबैको मत साम्राज्यवादले विश्वव्यापीरुपमा विध्वंश मच्चाइरहेको छ भन्ने निष्कर्ष थियो ।

पर्यावरणको ध्वंशक साम्राज्यावद पुँजीवाद नै हो । जातिवादी, रंगबादी युद्ध थोपर्ने यही हो । आदिवासी जनतालाई हुण वा सबैभन्दा खराब जाति भनी चित्रण गरी उनीहरुलाई ध्वंश गर्ने साम्राज्यवादीहरु नै हुन् । सार्वभौम देश र जनताको अधिकार समाप्त गर्ने र प्राकृतिक श्रोत र साधन कब्जाहरु गरी भोकमरी र नरसंहारमा धकेल्ने यही पुँजीवाद र साम्राज्यावद नै हो भन्नेमा सबै एक मत थिए ।

भेनेजुएलामाथि अहिले साम्राज्यवादी अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको छ । किनकि, त्यहाँ तेलको भण्डार छ, त्यसलाई बेच्न र उपयोग गर्न दिइरहेको छैन् । यो देशको सबै सम्पति रोक्का गरेको छ या त कब्जा गरेर जनतालाई सरकारविरुद्ध उदण्ड तरिकाले भड्काउन थालिएको छ ।

राष्ट्रपति निकोलस मदुरोको हत्या गर्न र अपदस्त गर्न पटक–पटक दुस्प्रयास गरिरहेको छ । तथाकथित अमेरिकी पिठ्ठु जसलाई भेनेजुएली जनताले निर्वाचनमा नांगेझार पारेर हराएका छन् । उसैलाई तथाकथित राष्ट्रपति घोषणा गरिएको छ भने अत्यधिक मत ल्याई सरकारको नेतृत्व गरिरहेका राष्ट्रपति मदुरोलाई अनेकौं जालझेल गरी हटाउने वा सिध्याउने षड्यन्त्र गरिरहेको छ । तर, संसारभरिका न्यायका पक्षधर जनताहरु सतिसाल झैं ठिंगो भएर उभिएका छन् । समाजवादी भेनेजुएलाको पक्षमा ठूला राष्ट्रहरु रुस, चीन लगायतका कैयन राष्ट्रहरु खडा भएका छन्, सहयोगमा जुटिरहेका छन् ।

जनवरी २२ देखि २४ जनवरीसम्म आयोजित कार्यक्रममा ६ महिनाका दुधे शिशुहरु बोकेर महिलाहरू निर्धक्कसित भेला भएको देख्दा छाती गर्वले फुल्थ्यो । किनकि, भेनेजुएला पछिल्लो समय पुँजीवादी साम्राज्यवादी सञ्चार माध्यमले कुप्रचार गरेको भोकमारी, कंगाल र युद्धग्रस्त देश हो, तर वास्तविकता त्यो होइन् ।

आफ्नै भेषभुषामा गर्व थियो उनीहरुलाई !
कार्यक्रममा विभिन्न देशहरुबाट आउनु भएका आदिवासी जनताहरुसित भेटघाट गर्ने मौका पाएँ । उनीहरु अति सरल थिए, अति मिलनसार थिए अनि मिजासिला पनि । उनीहरु आफ्नै भेषभुषामा सजिएका थिए । त्यसैमा अत्यन्त गर्व थियो उनीहरुलाई । अनुहारमा अनेकौं रंगहरु पनि पोतिएका थिए । कतिपयले ठूलो तर हातैले बुनेको चोयाको ह्याट लगएका थिए । ब्राजिलको अमेजनको अटाब्बे जंगलमा प्रतिक्रियावादी बोल्सोनारो सरकारले आगो लगाएर बिल्लीबाठ पारेको पीँडा सुनाउन त्यहाँका आदिवासी कार्यक्रममा आएका थिए । उपाध्यक्ष कार्कीका अनुसार ‘मैले नबुझे पनि अमेजन ! अमेजन !! भन्दै टोपीको लोगो देखाउँदै डढेलो लागेको होइन्, आदिवासीलाई सिध्याउन सरकारले नै लगाएको’ भनी सुनाउने र बुझाउने प्रयास गरिरहेका थिए ।

आफ्नो अनुभवलाई उपाध्यक्ष कार्की यसरी व्यक्त गर्दछन्, “मलाई त के लाग्यो भने आदिवासी जनजाति जुनसकै राष्ट्रहरु महादेशमा रहुन् उनीहरु उस्तै उस्तै हुँदा रहेछन्, उनीहरुको धर्म, संस्कृति र भेषभुषा पनि उस्तै उस्तै हुँदो रहेछ र सोच्ने तरिका पनि उस्तै उस्तै अनि थातथलोलाई माया गर्ने तरिका पनि उस्तै उस्तै । मैले मित्र मार्कोस गार्सियालाई सोधेको थिएँ, आदिवासीहरु मूलप्रवाहमा आएका छन् कि छैनन् ?”

उनले भने ‘‘सबै मूलप्रवहमा छौं, तर उनीहरु विकट पहाडमा छन्, त्यहाँबाट सुगम क्षेत्रमा सार्न सकिएन, कुनैपनि हालतमा मान्दैनन । त्यसकारण उनीहरु बर्षेनी आउने पहिरोमा परिरहेका छन् । त्यसकारण सरकारले सकेसम्म पहिरोलाई रोक्न विशाल पर्खालहरु खडा गरेको छ र सुरक्षित पार्ने प्रयास गरेको छ । त्यसैगरी आन्ध्र महासागरको तटीय इलाकाबाट उनीहरुलाई सार्न पनि निक्कै कठिन छ । कुनैपनि शर्तमा मान्दैनन । भेनेजुएला क्यारेबियन देश भएकोले ठूला ठूला तुफानको खतरा रहन्छ । तर उनीहरुलाई सार्न नसकिने भएपछि उनीहरुको सहमतिमा मात्र सुरक्षित योजना बनाउने गरिएको छ ।”

स्मरणीय के भने, नेपालका पनि राउटे, चेपाङहरुलाई मूलधारमा ल्याउन निक्कै बल गरिएको छ तर उनीहरु पनि जंगल त्याग्न वा थातथलो छोड्न तयार देखिएका छैनन् ।

त्यहाँका आदिवासीहरुले तयार पारेका केही हस्तकला र प्रतिनिधिमुलक तस्विर यहाँ प्रस्तुत गरिएको छ :

 

तस्बिर : स्रोत व्यक्ति/जय कार्की 

  •  
  •  
  •  
  •  
  •