प्रदेश १ सरकार सुखी र समुन्नत प्रदेशको नारा सार्थक तुल्याउन प्रयासरत्

७ फागुन ०७६, बिराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारालाई सार्थक तुल्याउन लागि परेको बताएका छन् ।

बुधबार प्रजातन्त्र दिवसको अवसरमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।

प्रदेश सरकार विकास र समृद्धिको एजेण्डालाई साकार बनाउन लागिरहेको भन्दै मुख्यमन्त्री राईले भने, ‘स्वच्छ, सुखी र समुन्नत प्रदेशको नारालाई सार्थक तुल्याउन सरकार प्रयासरत छ ।’

उनले सरकार गठन भएको दुई वर्षलाई संघीयता कार्यान्वयन र विकासको आधार वर्ष भएकाले अबका वर्षमा प्रदेशको विकास र समृद्धि गरिने दावी गरे ।

मुख्यमन्त्री राईले प्रदेशवासीलाई प्रदेश सरकारले लिएको लक्ष्य र शहीदका सपना पूरा गर्न सकारात्मक सोचका साथ अगाडि बढ्न आह्वान समेत गरे ।

कार्यक्रममा प्रदशे सरकारका मन्त्रीहरू, प्रदेश सांसदहरू, मन्त्रालयका सचिवहरु, नेपाल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

  •  
  •  
  •  
  •  
  •