समाजलाई नयाँ पाठ : रामनारायणको अन्तिम संस्कार छोरीहरूले नै गरे

७ फागुन ०७६, जनकपुरधाम । समाजलाई नयाँ पाठ पढाउँदै धनुषाको सबैला नगरपालिका वडा नम्बर २ निवासी रामनारायण यादवको अन्तिम संस्कार छोरीहरूले नै गरेका छन् ।

नेपाली समाजमा पुरुषले नै शव घाटसम्म लैजाने संस्कृतिलाई तोड्दै यादवको पार्थिव शरीरलाई उनकै छोरीहरूले मंगलबार दाहसंस्कारका लागि कमला खोला छेउसम्म लगेका हुन् ।

पाँच छोरीका बुबा रामनारायण यादवको निधनपछि गाउँमा दाहसंस्कार र क्रियाकर्म कसले गर्ने भन्ने चर्चा हुँदै गर्दा यादवका छोरीहरुले आफैँ सबै कर्म गर्ने बताएसँगै छोरीहरूले बुबाको शव उठाए । भने, घाटमा मृतककी श्रीमतीले दागबत्ती दिएकी थिइन् ।

यादवका पाँच छोरीहरू जेठी नेपुर यादव, माइली राजदेवी यादव, साँहिली प्रमिला यादव, काइँली अनिता यादव र कान्छी गोरकी यादव रहेको छ भने सबैको घरजम पनि भइसकेको छ ।

  •  
  •  
  •  
  •  
  •