उर्जामन्त्री वर्षमान पुनद्वारा युद्ध पर्यटन केन्द्रकाे उद्घाटन

दशवर्षे जनयुद्धको समयमा तत्कालिन माओवादीका अध्यक्ष ‘प्रचण्ड’ बसेको घर, आँगनमा कलाकारहरू नृत्य प्रस्तुत गर्दै / तस्बिर : सोम तामाङ

१२ फागुन ०७६, रोल्पा । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले रोल्पाको डाँडागाउँ राङ्सीमा युद्ध पर्यटन केन्द्रको उद्घाटन गरेका छन् ।

सोमबार मन्त्री पुनले रोल्पाको परिवर्तन गाउँपालिका २ राङसीमा युद्ध पर्यटन केन्द्रको उद्घाटन गरेका हुन् ।

मन्त्री पुनले युद्ध पर्यटन केन्द्रलाई पर्यटकीय नगरीका रुपमा विकास गर्न, यस क्षेत्रलाई पर्यटन मन्त्रालयको समन्वयमा पर्यटनको सूचीमा राख्न पहल गर्ने, लिफ्टिङ्ग मार्फत् पानीको व्यवस्था गर्न विस्तृत परियोजना बनाई अघि बढाउने बताएका छन् ।

यस्तै होम स्टे, हेलिप्याड निर्माण गर्ने साथै ढुङ्गे सिडीहरु निर्माण गरी यस क्षेत्रको आवागमनलाई थप व्यवस्थित गर्न पहल लिने उनले बताए ।

उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य जयपुरी घर्तीले यस क्षेत्र र पर्यटनलाई प्रवद्र्धन गर्न आफूले सबै किसिमको पहल गर्ने बताइन् ।

युद्ध पर्यटन केन्द्रको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि वर्षमान पुन लगायत अतिथिहरू / तस्बिर : सोम तामाङ

शिक्षा तथा स्वास्थ्य समिति सभापति समेत रहेकी प्रतिनिधि सभा सदस्य घर्तीले युद्ध पर्यटन केन्द्रलाई अघि बढाउन उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ र मन्त्री वर्षमान पुन ‘अनन्त’को  विशेष भूमिका रहेको बताउँदै मन्त्री  पुनले अघिल्लो वर्ष ५० लाख र यस वर्ष पनि ३० लाख रुपैयाँ बजेट छुट्याएको समेत बताइन् ।

यसैगरी उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसभामुख एवम् प्रतिनिधि सभा सदस्य ओनसरी घर्तीले उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ र प्रतिनिधि सभा सदस्य जयपुरी घर्तीको जन्मस्थल समेत भएकाले उहाँहरूको भूमिका महत्वपूर्ण रहेको बताइन् ।

यस क्षेत्रलाई नेपालकै नमूना युद्ध पर्यटन केन्द्र बनाउन जोड दिँदै उनले युद्ध पर्यटन केन्द्रका रुपमा अघि बढाउन सबैको भूमिका महत्वपूर्ण हुने बताइन् ।

सो उद्घाटन कार्यक्रममा प्रदेश ५ का प्रदेश सभा सदस्य दिपेन्द्र कुमार पुन, परिवर्तन गाउँपालिका अध्यक्ष निमकान्त डाँगी, रोल्पाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, जिल्लाका सुरक्षा अधिकारीहरू लगायतका स्थानीयहरूको सहभागिता रहेको थियो ।

उद्घाटनपछि दशवर्ष जनयुद्धका समयमा ११ महिनासम्म तत्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड बसेको घर अगाडि आँगनमा प्रमुख अतिथि, अतिथिहरूलाई स्थानीय कलाकारहरुले सांगितिक कोसेली समेत पस्किएका थिए ।

विद्यार्थी र विभिन्न आमा समूहहरुको समेत बाक्लो  उपस्थिति रहेको उद्घाटन कार्यक्रम लालबहादुर घर्तीको सभापतित्व र जितेन्द्र पुनको सञ्चालनमा भएको थियो ।

तत्कालीन नेकपा माओवादीकाे केन्द्रीय हेडक्वाटर र अध्यक्ष प्रचण्डलाई अन्यत्र सारेको १ दिनपछि शाही सेनाले आक्रमण गरेकोे घर ।

स्मरणीय याे छ कि, दशवर्षे महान जनयुद्धको क्रममा तत्कालीन नेकपा माओवादी तथा हालका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड रोल्पा जिल्ला डाँडागाउँ राङ्सी बसेर नेपाली जनयुद्ध हाँकिरहेेकाेे कुरा तत्कालीन शाहीसेनाले सुँइकाे पाएर आक्रमण गर्ने योजना बनाएको खबर अध्यक्ष प्रचण्डले जानकारी पाएसँगै हेडक्वाटर र अध्यक्ष प्रचण्डलाई अन्यत्र सारेको १ दिनपछि उक्त घरमा आक्रमण गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •