सवारी चालकको भूमिका डाक्टरको भन्दा ठूलो हुन्छ – ट्राफिक प्रहरी महाशाखा प्रमुख

१२ फागुन ०७६, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिम प्रसाद ढकालले सवारी चालकको भूमिका डाक्टरको भन्दा ठूलो हुने बताएका छन् ।

अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात इकाई कमिटी तथा नेपाल यातायात एक्सप्रेस प्रा.लि.ले सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एसएसपी ढकालले यस्तो बताएका हुन् ।

“चालक डाक्टर भन्दा ठूलो हुन्छ किनभने एक जना डाक्टरको लापरबाहीले एक जना बिरामीको ज्यान जान्छ तर चालकको लापरबाहीले गर्दा सयौं यात्रुको ज्यान जान्छ” एसएसपी ढकालले भनेका छन्, “उपत्यकाको सडकलाई प्रविधि मैत्री बनाउने काम भइरहेको छ, त्यो केही समयमै पूरा हुनेछ र गल्ती गर्नेलाई कारबाहीमा कुनै सम्झौता हुने छैन् ।”

उनले ठूला सवारीको मात्र गल्ती देखाउने प्रवृति समेत अब अन्त्य हुने दाबी गरे ।

अन्तरक्रियात्मक कार्यक्रममा यातायात मजदुरहरुले ट्राफिक प्रहरीको अशिष्ट बोली र दुव्र्यवहारले मनोवैज्ञानिक त्रास र आफ्नो पेशाप्रति नैै ग्लानी हुने बताएका थिए ।

उपत्यका ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भिम प्रसाद ढकालको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघका केन्द्रीय अध्यक्ष रामचन्द्र कार्की र वरिष्ठ उपाध्यक्ष तथा बागमती प्रदेश अध्यक्ष दिपक केसीको विशेष आतिथ्यता रहेको थियो । भने, एसपी राजकुमार वैधवार, यातायात मजदुरका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको आतिथ्यता रहेको थियो ।

‘नम्र शिष्ट, सभ्य र स्वाभिमान सचेत मजदुर निर्माण गर्ने हाम्रो अभियान’ नारा दिई अखिल नेपाल यातायात मजदुर संघका इकाई अध्यक्ष दिलिप गुरुङको अध्यक्ष्यतामा भएको सो कार्यक्रममा दुई सय पचास जनाभन्दा बढी चालक, सहचालकको सहभागितामा रहेको थियो ।

एसएसपी ढकाल महाशाखा प्रमुख भएपछि नागरिक प्रहरी साझेदारी अन्तर्गत संगठनले गरेको यो सातौँ कार्यक्रम हो ।

  •  
  •  
  •  
  •  
  •