नेकपाका अध्यक्ष ओलीले पार्टी सचिवालयको निर्णय कार्यान्वयन नगर्ने !

काठमाडौं । प्रधानमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीले पार्टी सचिवालयको निर्णय कार्यान्वयन गर्न नसक्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले बुधबारको सचिवालय बैठकको  निर्णयलाई कार्यान्वयन गर्न नसक्ने भनी वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटारमै बोलाएर सुनाएका हुन् ।

बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने, गौतमलाई मनोनित गर्न मन्त्रिपरिषदबाट राष्ट्रपतिसमक्ष सिफारिस गर्ने साथै संविधान संशोधन कार्यदल भङ्ग गर्ने निर्णय गरेको थियो ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओलीले आफूविरुद्ध खेल भएको भन्दै विकसित हुने घटनाक्रमको सामना गर्न आफू तयार रहेको बताएका छन् ।
नेता नेपालले पनि सचिवालय बैठकको निर्णय कार्यन्वयन नगर्दा अप्ठ्यारो परिस्थिति आउने सक्ने सुझाएको बुझिन्छ ।

स्रोत भन्छ, ‘पछिल्लो समय प्रधानमन्त्री ओलीले आफूलाई एकपछि अर्को घेराबन्दीमा पारिएको महशुस गरेका छन् ।’ स्रोतकाअनुसार गणितीय रुपमा पार्टीभित्र अहिले प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष ओली पार्टी र संसदीय दल दुवैतिर स्पष्ट अल्पमतमा छन् ।

पछिल्लो समय नेकपामा अध्यक्ष ओलीले नचाहेका निर्णयहरू पार्टी सचिवालय र केन्द्रीय कमिटीबाट भएपछि झस्किएको स्रोतको बुझाई छ ।
प्रधानमन्त्री ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका थिए तर सचिवालयको निर्णय अनुसार अग्नि सापकोटालाई सभामुख बने ।

त्यस्तै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज सम्झौता (कम्याक्ट) संसदबाट पास गर्ने विषयमा पनि पार्टी केन्द्रीय समिति बैठकबाट एमसीसी अध्ययन कार्यदल बन्यो र सो कार्यदलले अध्यक्ष ओलीको इच्छा विपरीत सुझाव दिइएकाले असहज महशुस गरेको स्रोतको दावी छ ।

  •  
  •  
  •  
  •  
  •