शिक्षक अभाव टार्न आयोग खुलाउने कि कार्यकर्ता भर्ती गर्ने – पूर्वशिक्षामन्त्री केसी

चितवन । पूर्वशिक्षामन्त्री एवं नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले शिक्षकहरुको पेशागत मर्यादा भत्काउन स्वयं सरकार नै अग्रसर रहेको आरोप लगाएका छन् ।

शनिबार नेपाल शिक्षक संघ चितवनको ३०औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसीले शिक्षण पेशालाई कमजोर बनाउन र शिक्षा क्षेत्रलाई तहसनहस पार्न सरकार नै क्रियाशील रहेको दाबी गरेका हुन् ।

संघीय शिक्षा ऐन ल्याउन ढिलाई गर्दा स्थानीय सरकारहरुले स्थानीयस्तरमै आफूखुसी ऐन नियम बनाउन थालेको भन्दै केसीले शिक्षामा समस्या माथि समस्या थप्ने काम सरकारले गरिरहेको आरोप लगाए ।

‘भर्खरै अस्थायी शिक्षक समस्या समाधान भएको थियो फेरि स्वयंसेवक शिक्षकका नाममा अर्को अस्थायी शिक्षक समस्या सिर्जना गर्ने काम भएको छ ।’ केसीले भने, ‘स्वयंसेवक शिक्षकका नाममा शिक्षालाई तहसनहस पार्ने खेल सुरु भइसकेको छ ।’

शिक्षक अभाव भएका स्थानमा दरबन्दी सिर्जना गरेर स्थायी समाधान गर्न जोड दिँदै नेता केसीले शिक्षकका नाममा कार्यकर्ता भर्ती गर्न नपाइने बताए ।

विद्यालय कर्मचारी, राहत, इसिडि शिक्षकको स्थायी समस्या समाधान गर्नको साटो सरकार पुनः अर्को समस्या खडा गर्न उद्दत रहेको भन्दै शिक्षकहरु यसको विरोध गर्नुपर्ने उनले बताए ।

आफू शिक्षामन्त्री हुँदा शिक्षकहरुसँग सडकमै गएर सम्झौता गरेको स्मरण गर्दै उनले विद्यालय कर्मचारी र इसिडि शिक्षकको समस्या समाधानमा चासो दिन सरकारसँग आग्रह गरे ।

चितवन कांग्रेसका पूर्वसभापति कृष्णलाल सापकोटा, नेपाल शिक्षक संघका पूर्व केन्द्रिय अध्यक्ष मोहन ज्ञवाली, नेपाल शिक्षक संघ बाग्मती प्रदेशका अध्यक्ष नारायण तिमल्सिना, शिक्षक संघ चितवनका अध्यक्ष डा. हरि कँडेल लगायतले शिक्षाका विषयमा धाराणा राखेका उक्त कार्यक्रममा जिल्लाको सार्वजनिक शिक्षाको सुधारमा भूमिका खेलेका प्रधानाध्यापकहरुलाई सम्मान समेत गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •