प्रधानमन्त्रीज्यूको प्रत्यारोपित मृगौलाले पनि काम गर्न शुरु गरिसकेको छ – त्रिवि शिक्षण अस्पताल

२१ फागुन ०७६, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले बुधबार प्रेस विज्ञप्ति जारी गरेर प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सम्पन्न भएको जानकारी गराएको हो ।

“सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको आज मिति २०७६ साल फागुन ११ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृगौला प्रत्यारोपण सम्पन्न गरिएको छ” विज्ञप्तिमा भनिएको छ, “हाल उहाँको स्वास्थ्य स्थिर अवस्थामा रहेको छ । उहाँका सबै मुख्य सूचाकांकहरू राम्रो अवस्थामा रहेका छन् । प्रत्यारोपित मृगौलाले पनि काम गर्न शुरु गरिसकेको छ ।”

अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गाद्वारा हस्ताक्षरित विज्ञप्तिमा मृगौला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्य स्थिति पनि सामान्य अवस्थामा रहेको जनाइएको छ ।

प्रधानमन्त्री ओलीलाई आज बिहान सवा १० बजे मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया कक्षमा लगिएको थियो।

प्रधानमन्त्री ओलीको यसअघि पहिलो पटक २०६४ सालमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण भएको थियो ।

  •  
  •  
  •  
  •  
  •