सेनालाई ठेकेदार बनाउने हो कि सुरक्षाको जिम्मा दिने – सांसद कंडेल

२३ फागुन ०७६, काठमाडौं । संसदको राज्य व्यवस्था तथा सुशासन समिति अन्तर्गतको कार्यदलले नेपाली सेनाभित्रको नीतिगत भ्रष्टाचार संसदीय समितिमा छलफल गर्न र भ्रष्टाचारसम्बन्धी उजुरी अख्तियारमा पठाउन सुझाव दिएको छ ।

कार्यदलले बिहीबार समितिको बैठकमा सेनाभित्रको नीतिगत भ्रष्टाचारबारे संसदीय समितिमा छलफल गर्न र पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीविरुद्धको भ्रष्टाचारसम्बन्धी उजुरी अख्तियारमा पठाउन सुझाव दिएको हाेे ।

कार्यदलमा सांसदहरु दिलेन्द्रप्रसाद बडु, रेखा शर्मा र नवराज सिलवाल रहेका छन् ।

बैठकमा सांसद देवेन्द्रराज कंडेलले सेनालाई विकास निर्माणको काम भन्दा सुरक्षाको जिम्मेवारी मात्रै दिनुपर्ने बताए ।

‘सेनालाई ठेकेदार बनाउने हो कि सुरक्षाको जिम्मा दिने हो ? कंडेलले प्रश्न गरेका छन् ।

यस्तै सांसद अमरेशकुमार सिंहले पनि पूर्वप्रधानसेनापति क्षेत्रीले गरेको भनिएको भ्रष्टाचारबारे छानबिन हुनुपर्नेमा जाेड दिए ।

बिहीबार बसेको समिति बैठकमा रक्षामन्त्री ईश्वर पोखरेलकाे प्रतिनिधि रक्षासचिव रेश्मीराज पाण्डे साथै प्रधानसेनापति पूर्णचन्द्र थापाको सट्टामा रथी शरद गिरी नेतृत्वको टोली गएका थिए ।

रक्षामन्त्री बैठकमा उपस्थित नभएपछि समिति सभापति शशी श्रेष्ठले अर्को बैठकमा अनिवार्य उपस्थित हुने सन्देश मन्त्रीलाई पु-याउन रक्षासचिव पाण्डेलाई निर्देशन दिइन् ।

  •  
  •  
  •  
  •  
  •