चीनका राष्ट्रपतिद्वारा प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त

२४ फागुन , काठमाडौं । चीनका राष्ट्रपति सी चिनपिङले हालै एक सन्देश पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाकाअनुसार राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई एक सन्देश मार्फत् मिर्गौला प्रत्यारोपण गरेको जानकारी प्राप्त भएको उल्लेख गर्दै चीन सरकार, जनता र आफ्नै तर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

राष्ट्रपति सीले सन्देशमा दुई देशका साथै चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीचको सम्बन्धलाई थप बिस्तार र सुदृढ तुल्याउन प्रधानमन्त्री ओलीसँग काम गर्न आफू प्रतीक्षामा रहेको समेत उल्लेख गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी नरेन्द्र मोदी, पाकिस्तानी समकक्षी इमरान खान, भुटानका समकक्षी डालोट्टी छिरिङ साथै नेपालका लागि जापानी राजदूतले समेत शीघ्र स्वास्थ्य लाभको कामना यसअघि नै गरिसकेका छन् ।

  •  
  •  
  •  
  •  
  •