२६ फागुन ०७६, जनकपुरधाम । मिथिला नाट्यकला परिषद् (मिनाप) ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई ‘महामुर्ख’को उपाधिबाट सम्मान गरेको छ ।
प्रत्येक वर्ष होलीको अवसरमा मिनापले समाजमा योगदान पु-याएका व्यक्तिलाई दिने ‘महामुर्ख’को उपाधि सोमबार मुख्यमन्त्री राउतलाई प्रदान गरेको हो ।
यसैगरी मिनापले ‘पटमुर्ख’ राजपाका प्रदेश सांसद मनिष सुमनलाई, ‘हराशंख’ प्रदेश सांसद रामअशिष यादवलाई, ‘सिलौटा’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रदेश सांसद रामचन्द्र मण्डललाई, ‘भभकौवा’ उपाधि राजपाका प्रदेश सांसद प्रमेश्वर साहलाई प्रादन गरी सम्मान गरेको छ ।
त्यसैगरी मिथिला नाट्यकला परिषद् (मिनाप)ले ‘टुनमुसरी’ जनकपुरधामकी उपमेयर रीता झा, ‘लोढाशंकर’ नेपाल पत्रकार महासंघ धनुषा शाखा अध्यक्ष अनिल मिश्र, ‘घरघुसना’ मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरी, ‘बेलगोबना’ उपाधिले साहित्यकार रोशन जनकपुरीलाई सम्मान गरेको छ ।
‘बेस कुल्हैर’ युवा अभियन्ता सुशील कर्णलाई, ‘खाप सुरत’ पिपरा नगरपालिका प्रमुख विक्रम चौधरीलाई, ‘अदलबदली’ पुनम झालाई र ‘बज्रकिट’ उपाधिबाट बलराम साहलाई सम्मान गरिएको छ ।
मिनापका सचिव सन्दीप साहले होलीको अवसर पारेर वि.सं. २०६१ सालदेखि भाषा, संस्कृति, कला, समाजिक रुपान्तरण, राजनीतिका क्षेत्रमा योगदान पु-याएका स्रष्टाहरुलाई सम्मान गरिँदै आएको जानकारी दिए ।