काठमाडौंदेखि दोलालघाट हुँदै बेखसिम्ले र चौवाससम्म निःशुल्क बस सेवा

 

८ चैत ०७६, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड १९)बिरुद्ध सचेतना जगाउने उद्देश्यसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भुम्लु गाउँपालिका र भुम्लु काठमाडौं सम्पर्क मञ्चले निःशुल्क बस सेवा सञ्चालन गर्दैछ ।

सरकारले चैत्र १० गतेदेखि लामो दुरीको बस सञ्चालनमा रोक लगाएपछि चैत्र ९ गते जिल्लामा जाने यात्रुहरुलाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भुम्लु गाउँपालिका र भुम्लु काठमाडौं सम्पर्क मञ्चले जडिबुटी काठमाडौंदेखि दोलालघाट हुँदै बेख सिम्ले र चौवाससम्म निःशुल्क बस सञ्चालन गर्ने भएको हो ।

भुल्लु गाउँपालिका संयोजक प्रेम लामाले प्रधानमन्त्रीको सम्बोधनमा १० गतेदेखि लामो रुटका सवारी नचल्ने विषय आएपछि गाउँ फर्कन चाहने जिल्लावासीहरुलाई पालिकाको खर्चमा यातायातको असुविधा नहोस् भनेर चैत ९ गते दुई वटा बस निःशुल्क सञ्चालनमा ल्याइएको बताए ।

यस्तै संयोजक लामाले हाकाहाकीसँगको कुराकानीका क्रममा घर फर्कने यात्रुहरुलाई बसको अपुग भए बस थप गरिने समेत जानकारी दिए ।

निःशुल्क यात्रा गर्ने यात्रुहरुलाई कोरोना र यसबाट बच्ने उपायबारे यात्रा गर्नु अघि जानकारी दिइने, बस चढ्नु अघि हात घुलाएर सेनिटाइजर प्रयोग गरी यात्रा गराउने भन्दै संयोजक लामाले यसको फाइदा गाउँघरमा फर्किएकाहरुले कम्तीमा गाउँघर र परिवारमा यसबाट बच्ने उपायबारे सचेतना दिन र सुरक्षित हुनसक्ने बताए ।

जडीबुटीदेखि दोलालघाट हुँदै बेखसिम्ले र चौवाससम्म निःशुल्क बस

भुम्लु–काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज क्रान्ति लामाले काठमाडौंको जडुबटीबाट दोलालघाट, भुल्लुटार, सापिङ्ग, सिम्थली हुँदै बेख सिम्लेसम्म र जडीबुटीदेखि नै दोलालघाट, फलाटे, कोलाती, मुलाबारी, सल्ले हुँदै चौवाससम्म निःशुल्क बस सञ्चालन गरिने बताए ।

भुम्लु–काठमाडौं सम्पर्क मञ्चका इन्चार्ज क्रान्ति लामाले काठमाडौंको जडुबटीबाट बेखसिम्लेसम्म साथै जडीबुटीदेखि चौवाससम्म निःशुल्क जाने बस जडिबुटीबाट ११ बजे छुट्ने बताए ।

यसैगरी अखिल नेपाल यातायात मजदुर संघका उपाध्यक्ष दिपक केसीले उक्त रुटमा चल्ने बस बिहान ८ बजे नै छुट्ने हुँदा घर जान चाहने र बस नपाउने यात्रुहरुलाई निःशुल्क माक्स र सेनिटाइजर वितरणसहित निःशुल्क गन्तव्य लैजाने व्यवस्था नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भुम्लु गाउँपालिका र भुम्लु काठमाडौं सम्पर्क मञ्चले मिलाएको जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •