होटल संघ नेपाल र तीन ट्रेड युनियन बीच ५ बुँदे सहमति

९ चैत ०७६, काठमाडौं । होटल संघ नेपाल र तीन ठूला ट्रेड युनियनको आइतबार बसेको संयुक्त बैठकले एक महिना लागू हुने गरी ५ बुँदे सहमति गरेको छ ।

आइतबार होटल संघ नेपालका अध्यक्ष सृजना राणाको अध्यक्षतामा, अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डे, ने.प.तथा हो.स.श्र. संघका अध्यक्ष खेमराज खडका र नेस्वहोमयुका अध्यक्ष सूर्य बहादुर कुँवर लगायत होटल व्यवसायी र ट्रेड युनियनका प्रतिनिधि बीच बसेको संयुक्त बैठकले होटल व्यवसायी र होटलमा कार्यरत मजदुरहरुका लागि ५ बुँदे सहमति गरेको हो ।

बैठकका एक सहभागी अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघका अध्यक्ष माधव पाण्डेले होटल संघ नेपालसँग आवद्ध सम्पूर्ण होटलहरुमा कार्यरत कर्मचारी तथा श्रमिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोभिड १९ को महामारीको प्रकोप रहेसम्म होटलहरूमा अति आवश्यक सेवामा कायरत कर्मचारी तथा श्रमिकहरुलाई स्वास्थ्य सम्बन्धी आवश्यक मास्क ज्वरो नाप्ने यन्त्र, स्यानिटाइजर र पन्जा प्रबन्ध गरी काममा लगाउने र अन्य कर्मचारी तथा श्रमिकहरुलाई बिदामा पठाउने निर्णय गरिएको बताए ।

यस्तै अध्यक्ष पाण्डेले हरेक १५ दिनमा होटल संघ नेपालका पदाधिकारी तथा संयुक्त ट्रेड युनियनहरूका पदाधिकारीबीचमा यो सम्बन्धमा समीक्षा बैठक बस्ने र हाललाई कर्मचारीहरूले प्राप्त गर्ने संचित विदा तथा संचित विदा नभएमा अग्रिम बिदामार्फत समायोजन गर्ने गरी व्यवस्थापन गर्ने बैठकले निर्णय गरेको जानकारी समेत दिए ।

कोभिड १९ को प्रकोप रहेसम्मका लागि लिभ ट्राभल एलाउन्स (एलटीए) उपलब्ध गराउन नसकिने भन्दै उक्त संयुक्त बैठकले कोभिट १९ को महामारीको प्रकोपले होटल तथा पर्यटन क्षेत्रमा पर्न सकने प्रभाव तथा क्षतिको विषयमा होटल संघ नेपाल र ट्रेड युनियनहरुको प्रतिनिधिसहितका संयुक्त प्रतिनिधिहरुले नेपाल सरकार तथा सम्बन्धित निकायहरुमा होटल तथा होटलमा कार्यरत श्रमिकहरुको लागि आवश्यक पर्ने राहत र सुविधाको विषयमा संयुक्त रुपमा अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठक र निर्णयको पूर्णपाठ :

अखिल नेपाल होटल क्यासिनो तथा रेष्टुराँ मजदुर संघले शनिबार मात्रै हान र रेवानलाई सम्बोधन गरी ७ बुँदे ध्यानाकर्षण पत्र जारी गर्दै होटल तथा पर्यटन क्षेत्रमा कोभिड १९ का कारण पर्न गएको प्रभावका कारण यस क्षेत्रमा कार्यरत श्रमिकहरु एउटा निश्चित समयसम्म रोजगारबिहीन बन्न जाने अवस्था देखिएको भन्दै रोजगारदाता र सरकारलाई श्रमिकका सवाल सम्बोधन गर्न आग्रह गरेको थियो ।

सो ध्यानाकर्षण पत्रमा बन्द अवधिको पारिश्रमिक उपलब्ध गराउन, स्वास्थ्य सुरक्षा साथै रोजगारीको ग्यारेन्टी गर्नु पर्ने लगायतका बुँदा सम्बोधन गर्न अनुरोध गर्दै र होटल संघ नेपालको नाममा फैलाइएको अफवाहको खण्डन समेत गरिएको थियो ।

  •  
  •  
  •  
  •  
  •