कोभिड-१९ रोकथामका लागि रौतहटबासीको सरकारलाई पूर्ण साथ

गरुडा नगरपालिका ९ नरकटिया टोलका युवाहरुद्वारा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि चालिएको कदम । तस्बिर : जितेन्द्र

जितेन्द्रलाल श्रीवास्ताब/१३ चैत ०७६, रौतहट । विश्वभर महामारीको रुपमा फैलिएको कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारको उच्च प्राथमिकतालाई रौतहटबासीले पूर्णरुपमा साथ दिएका छन् ।

फ्रान्सबाट नेपाल आएकी एक १९ वर्षीय महिलामा कोभिड १९ को संक्रमण देखिएपछि सरकारले चैत ११ देखि १८ गतेसम्म अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन गरेको घोषणालाई रौतहटवासीले पूर्णसाथ दिएका हुन् ।

रौतहटका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेकाअनुसार लक डाउनको तेस्रो दिन आज रौतहट पूर्णरुपमा बन्द रहेको छ ।

गरुडा नगरपालिका ९ नरकटिया टोलका युवाहरुद्वारा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि चालिएको कदम । तस्बिर : जितेन्द्र

प्रमुख जिल्ला अधिकारी घिमिरेले लकडाउनको मौकामा कालोबजारी हुनसक्ने भन्दै अनुगमन टीम पनि बनाइएको जानकारी दिए ।

‘लकडानको मौका छोपेर कालोबजारी हुनसक्ने भएकाले नगरपालिका, वडा अध्यक्षहरु समेतलाई समेटेर अनुमगन टिम बनाएका छौं’ प्रजिअ घिमिरे भने, ‘यदि यस्तो संकटमा कसैले कालोबजारी गरेको भेटिए कडाभन्दा कडा कारबाही गर्नेछौं ।’

उनले लकडाउनमा रौतहटबासी जनताको पूर्ण साथ समर्थन रहेको जानकारी समेत दिए ।

यस्तै रौतहटमा गरुडा नगरपालिका ९ नरकटियाका युवाहरुले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारको आदेशलाई कार्यान्वयन गर्न नगरवासीलाई आग्रह गरेका छन् ।

नगरबोर्ड कार्यसमितिका सदस्य घनश्याम प्रसाद साहले बजारमा माक्सको अभाव भएपछि नगरवासीलाई आफैँ सचेत भई सजग र सुरक्षित हुन अपील गरेका छन् । साथै, स्थानीय सरकारले कोभिड–१९ रोकथाम र निणन्त्रणका लागि स्थानीय रुपमा खेल्नुपर्ने भूमिका नखेलेको बताए ।

  •  
  •  
  •  
  •  
  •