बेल्जियमबाट कतार हुँदै आएकी महिला, कोभिड–१९ को पाँचौं संक्रमित

१५ चैत ०७६, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ८ सय ७५ जनाको कोभिड–१९ परीक्षण भएकोमा ५ जनामा संक्रमण भेटिएको र बाँकी सबैको रिर्पोट नेगेटिभ आएको बताएको छ ।

शनिबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले ८ सय ७५ जनाको कोभिड–१९ परीक्षण भएकोमा ८ सय ७० जनाको कोभिड-१९ रिर्पोट नेगेटिभ आएको बताएका हुन् ।

प्रवक्ता देवकोटाले टेकु अस्पतालमा ४ जना आइसोलेनमा र ६ जना क्वारेन्टाइनमा गरी १० जना रहेको बताउँदै आइसोलेसनमा भएका मध्ये २ जनाको रिर्पोट पोजिटीभ देखिएको बताए ।

संक्रमित डिस्चार्ज भएको खबर झूठो, चौथो संक्रमितको धनगढीमा उपचार हुँदै

शुक्रबार १ जना संक्रमित डिस्चार्ज भएको भनेर सञ्चार माध्यमहरुमा आएको खबर झूठो भएको प्रष्ट पार्दै उनले चौथो संक्रमितका सन्दर्भमा २० मार्चमा दुबईबाट दिल्ली हुँदै नेपाल आएको र हाल उनको धनगढीमा उपचार भइरहेको बताए ।

यस्तै प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भएका मध्ये थप एक जनामा कोभिड–१९ पोजिटिभ देखिएको भन्दै यो पाँचौं संक्रमित भएको बताए । पाँचौं संक्रमित बेल्जियमबाट कतार हुँदै आएकी १९ वर्षीया महिला रहेको र उनी चैत्र ४ गते नेपाल आएको बताए । साथै, हाल उनी चिकित्सकको सम्पर्कमा रहेको बताए ।

थप गरियो, निःशुल्क कल सेन्टर

कोभिड १९ संक्रमणको बारेमा जानकारी लिन र केही बुझ्न चाहनेहरुका लागि कल सेन्टरमा फ्री कल गर्न सकिने व्यवस्था गरिएको बताउँदै उनले कल सेन्टर १११५ स्थापना गरिएको र उक्त सेन्टरमा ६ हजार भन्दा बढी फोन आएको पनि बताए ।

यस्तै प्रवक्ता देवकोटाले आजबाट ११३३ नम्बरको निःशुल्क कल सेन्टर थप गरिएको भन्दै कल सेन्टरमा कल गरेर डिटेल सूचना प्राप्त गर्न सकिने बताए ।

स्वास्थ्य सुरक्षा सामग्री लिन वाइडबडी जहाज चीन उड्यो

प्रवक्ता देवकोटाले नेपालको वाइडबडी जहाज आजै अपरान्ह स्वास्थ्य सुरक्षा सामग्री लिनका लागि चीन गइसकेको बताए ।

यस्तै भोलिसम्म सुरक्षा सामग्री वितरण गर्ने गरी उपलब्ध हुनसक्ने उनले बताए ।

यसैगरी देवकोटाले धरानमा आजैदेखि परीक्षण सुरु हुने बताए भने हेटौंडा, पोखरा, नेपालगन्ज लगायत केही ठाउँमा टीम मुभ भइसकेको र सामनहरु आएपछि नमूना परीक्षण सुरु गरिने बताए ।

उनले नेपाल उद्योग परिसंघले केही सामनहरु दिएको बताउँदै करिब ७५ हजार सर्जिकल माक्स र १०० वटा पीपीई दिएको जानकारी दिए । यस्तै एकीकृत व्यापार कम्पनी प्रा.लि.ले ४० थान पीपीई दिएको समेत बताए ।

विस्तृत भिडियो जानकारीका लागि  https://t.co/rTG7M6GQtd मा क्लिक गर्नुहोस् ।

 

 

  •  
  •  
  •  
  •  
  •