सरकारले बिपन्न नागरिकलाई तत्कालै खाद्य सामग्री उपलब्ध गराउनु पर्छ – अखिल नेपाल ट्रेड युनियन महासंघ

१६ चैत ०७६, काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासंघले दैनिक ज्यालादारी गरेर साँझ-बिहानको छाक टार्ने मजदुर र अतिबिपन्न परिवारलाई सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्नुपर्ने बताएको छ ।

महासंघका केन्द्रीय अध्यक्ष जगत सिम्खडाले शनिबार साँझ हाकाहाकीसँग संक्षिप्त कुराकानी गर्दै कोभिड–१९ को संक्रमण देखापरेसँगै देश लकडाउनमा गएपछि ज्यालादारी श्रमिकको चुल्हो नबल्ने स्थिति बनेको भन्दै सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्नुपर्ने बताएका हुन् ।

कोरोना संक्रमणबाट गुज्रिरहेका धेरै देशका सरकार जनताको स्वास्थ्य सुरक्षा कवचदेखि खाना, नाना, छाना सबै बनेको भन्दै अध्यक्ष सिम्खडाले भने, “नेपाल सरकार आम श्रमजीवी मजदुर र बिपन्न नागरिकका लागि संवेदनशील बन्नु पर्दछ, दैनिक ज्यालादारी काम गरेर साँझ-बिहानको छाक टार्ने परिवारहरूलाई तत्कालै राहत प्याकेज घोषणा गर्नुपर्छ ।”

सरकारले न्यूनतम् राहत प्याकेज घोषणा गर्न ढिलाई गर्न नहुने भन्दै उनले कोरोना संक्रमणसँगसँगै आम श्रमजीवी जनता भोकमरीबाट मर्नेस्थिति बन्न नहुने बताए ।

बागमती प्रदेश सांसद समेत रहेका अध्यक्ष सिम्खडाले दैनिक ज्यालादारी मजदुर, अति बिपन्न परिवारको विवरण ट्रेड युनियन समेतको सहकार्य र समन्वयमा स्थानीय तह साथै वडास्तरबाटै विवरण लिएर/संकलन गरेर सरकारले उनीहरुलाई तत्कालै अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराउनु पर्ने बताए ।

यसैगरी देशभित्र विभिन्न भूभागमा अलपत्र परेका र देशबाहिर कोरोना संक्रमण फैलिएपछि समस्यामा परेका सम्पूर्ण नागरिकका उद्दार गर्न सरकारले विशेष पहल गर्नुपर्ने भन्दै अध्यक्ष सिम्खडाले स्वास्थ्य क्षेत्रमा काम गर्ने चिकित्सक, नर्स लगायत सम्पूर्ण कर्मचारी र श्रमिकहरुको स्वास्थ्य सुरक्षाको प्रत्याभूत हुने गरी काम गर्नु पर्नेमा जोड दिए ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमित नेपालमा पनि भेटिएपछि सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै दैनिक ज्यालादारी गरेर साँझ बिहान हातमुख जोर्ने श्रमिक परिवारको अवस्था असामान्य बन्दै गइरहको छ ।

  •  
  •  
  •  
  •  
  •